अटो संघमा भीमप्रसाद

मकवानपुर । नेपाल अटो रिक्सा व्यवसायी संघको विहीबार हेटौँडामा भएको पाचौँ अधिवेशनले भीमप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति उपाध्यक्ष होमलाल देउला, सचिव भीम बहादुर पाख्रिन, कोषाध्यक्ष गोविन्द प्रसाद तिमिल्सिना चयन भएका छन् । यस्तै, सदस्यहरुमा फणिन्द्र सञ्जेल, सूर्यबहादुर थिङ, हरि प्रसाद न्यौपाने, उत्तम अधिकारी र टेक प्रसाद न्यौपाने चयन भएका छन् । संघमा दुई हजार ५ सय जना सदस्य रहेको बताइएको छ ।

अधिवेशन उद्घाटनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हेटौँडाका अटो रिक्साहरुको व्यवस्थित पार्किङका लागि स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सिटौलाले हेटौँडामा पार्किङको समस्या भइरहेकाले हेटौँडा उपमहानगरले यसको व्यवस्थापन गर्न चासो लिन आग्रह गरे । उनले भने, ‘अहिले हेटौँडाका मेयरले बजार विस्तार गरेर जुन वाहवाही कमाउनु भएको छ, हिम्मतवाली भनेर चर्चा भएको छ, त्यसमा २ हजार ५ सय भन्दा बढी अटो रिक्साहरुको व्यवस्थित पार्किङ पनि व्यवस्थापन गरिदिनु भयो भने हामी पनि तपाईंलाई अर्को हिम्मतवाली मेयर भनेर प्रशंसा गर्न तयार छौँ ।’

सिटौलाले यातायात व्यवसायी महासंघ सडक विस्तारको पक्षमा रहेको बताए । उनले भने, ‘यातायातको संख्या बढेको बढ्यै छ तर ससाना सडक र सडकसँग जोडिएका घरले समस्या भइरहेको छ, यसैले हामी सडक विस्तार कार्यको स्वागत गर्दछौँ ।’

सिटौलाले यो सरकारले यातायात क्षेत्रमा केही राहत दिने गरी काम गर्न लागेको बताए । उनले भने, ‘हामीले विगतमा कैयौँ सरकारसँग यातायात क्षेत्र सुधारका लागि हारगुहार गरेका थियौँ, सुनेन, यो सरकारले केही काम गर्न खोजेको अनुभूत गरेका छौँ, नतिजा कुरेका छौँ, एक महिनामा केही विवरण आउने आसा गरेका छौँ, सरकारले विभिन्न समिति बनाएर यातायात क्षेत्र सुधारको काम गरिरहेको छ ।’ उनले सरकारका प्रधानमन्त्री, गृहमन्त्री, जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङसँग पनि यातायात क्षेत्र सुधारका लागि सकारात्मक अन्तरक्रिया भएको बताए ।
‘मापसे र लापसे नगरिदिनोस्,’ सिटौलाले भने, ‘हामी यातायात व्यवसायी नै लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे)मा जोडिने गरेका छौँ, यसमा महासंघ र यातायात संघले कुनै क्षमा दिन सक्दैन, तपाईंहरुले यात्रुसँग नरम व्यवहार गरिदिनुहोस्, ट्राफिक प्रहरीलाई पनि मदत गरिदिनुहोस् ।’ सिटौलाले सबै अटो व्यवसायीलाई दर्ता गर्ने ठाउँमा दर्ता र नवीकरणमा पनि सरिक हुन आग्रह गरे । उनले भने, ‘जेन्जी आन्दोलनले प्रहरी प्रशासनलाई कमजोर बनाइएको छ, उनीहरु हाम्रै सहयोगका लागि हुन्, हामीले मदत गरे उनीहरुले पनि हामीलाई मदत गर्छन्, हामी कुनै पनि अपराधयुक्त काममा जोडिनु हुन्न ।’

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, यातायात क्षेत्रका नेताहरु माधव अधिकारी, ज्ञानेन्द्र कार्की, रञ्जना बर्तौलालगायतले बोलेका थिए ।

संघका अध्यक्ष नवराज घिमिरेको अध्यक्षमा भएको कार्यक्रममा संघका उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.