Wednesday, 14th November, 2018
siddhi-binayak-madhyastha-1502267497.gif

मध्यवार्ता

समृद्द गाउँपालिका बनाउँन तत्पर छौं : उपाध्यक्ष राना 
चीनबाट आएको बत्ती र भारतबाट आउने फूलले तिहार मनाउने होइन, स्थानीय उत्पादनलाई जोड दिनुपर्छ  ।

parbati-rana-1541617206.jpg

उपाध्यक्ष राना

मकवानपुरको भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना विहान देखि बेलुकीसम्म जनताको गुनासो सुन्नमै व्यस्त छिन् । उपाध्यक्षमा निर्वाचित भइसकेपछि आफ्नो गाउँपालिकाका समस्या, नागरिकका चाहाना सम्बोधन गर्न योजनाबद्द ढङ्गबाट उनी लागिपरेकी छिन् । चुनावताका जनताको घरमा मत माग्न गइरहँदा र अहिले पदमा पुगेपछि काम गरिरहँदा कस्तो अनुभूति भइरहेको छ भनेर हामीले उनको कार्यानुभव जान्न केही प्रश्नहरु सोधेका छौं । 
तिहारको सन्दर्भमा लक्ष्मी पुजाका दिन लक्ष्मी पुजाको तयारीमा जुटिरहेकी रानासंग तिहारसंग सम्बन्धी केही प्रश्नका साथै गाउँपालिकामा काम गर्दाका अनुभव, नागरिकका चाहाना, योजना कार्यान्वयनमा देखिएका समस्या, चुनौती, समग्र गाउँपालिका विकास योजना लगायतका विषयमा उनीसंग गरिएको कुराकानी जस्ताको तस्तै : 

तिहार कसरी मनाउँदै हुनुहुन्छ ?
तिहार नेपालीहरुको दशैं पछिको अर्को महान चाड हो । विशेषगरी नेपालीहरुले तिहार पाँच दिन मनाउँछन् । काग तिहार, कुकुर तिहार, गाई तिहार, लक्षी पुजा हल तिहार हुदै भाइटिका लगाउने गरिन्छ । मैले पनि त्यसैगरि मनाउदैछु । आज लक्ष्मी पुजाका दिन । घर सरसफाई गर्दै पुजाआजा गर्दै रमाइलो पनि गरियो । भोलि पर्सिका टिकाका लागि तयारी गर्ने सोचमा छु । गाउँमा हो भने हल तिहारका दिन गोरुलाई पुजा गर्ने गरिन्थ्यो । पर्सि भाइटिकाका दिन दाजु हुनुहुन्छ, दाजुका छोराहरु छन्,उनीहरुलाई टिका लगाउने र त्यसपछि रमाइलो गर्ने योजना बनाएको छु । 

तिहारको महत्व चाँही तपाईं के देख्नुहुन्छ ? 
नेपालीहरुको संस्कृति हो तिहार । हामीले जोगाउनुपर्ने संस्कार, संस्कृति हो तिहार । यो संस्कृतिले दाजुभाई दिदि बहिनी बिचको जुन सम्बन्ध छ, जुन नाता छ त्यसलाई एकदमै प्रगाढ बनाउँछ, सम्बन्धलाई मजबुत बनाउँछ । आपसमा सम्बन्ध राम्रो छ भने अझ राम्रो बनाउँछ । कत्तिको सम्बन्ध बिग्रिएको छ भने पनि तिहारले सम्बन्ध सुधार गराउँछ । यो पर्वको विशेष महत्व भनेकै दाजुभाई दिदि बहिनीलाई नजिक गराउँने हो । तिहार हामी सबैले रमाइलो गरी मनाउँनुपर्छ । यसमा विकृतिहरु पनि छन्, तिनलाई हटाउनुपर्छ । धेरै फजुल खर्च गर्नु हुदैन । तिहारमा देउशीरे-भैलीरे खेल्ने चलन छ यसमा टाढा –टाढा राती रातीसम्म पनि खेल्नु हुदैन । साँझ धेरै बेरसम्म देउशीभैलो नखेली साँझ ७-८ बजेसम्म खेलेर रमाइलो गर्ने गर्नुपर्छ । देउशीभैलोमा पैसा धेरै उठाउने हिसाबमा हेर्ने गर्नु पनि हुदैन । यसलाई सम्बन्ध सुधार गर्ने, सम्बन्ध विस्तार गर्ने, मनोरञ्जन लिने र मनोरञ्जन दिने हिसाबले मनाउँनु पर्दछ भन्ने कुरा म भन्न चाहान्छु । 

भीमफेदी गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ, गाउँपालिकाको तर्फबाट तपाईंका शुभकामना सन्देश चाँही के छ ? 
गाउँपालिकाको तर्फबाट भनेर हामीले निर्णय नै गरेर त कसैलाई पनि शुभकामना सन्देश पठाएनौं । तर पनि म सबैलाई के भन्न चाहान्छु भने तिहार यहाँहरु सबैको रमाइलो होस् । तिहारका अवसरमा म सबैलाई शुभकामना दिन चाहान्छु । सबैको तिहार सुखद रहोस्, रमाइलो रहोस्, अविष्मरणीय रहोस् । धेरै खर्च नगरी केवल सम्बन्ध विस्तार गर्ने, संस्कार बचाउने हिसाबमा मनाउनका लागि म गाउँपालिकाका सबैलाई भन्न चाहान्छु । तिहारमा जाँड रक्सी खाने चलन छ, त्यसलाई घटाउनुपर्छ । पटका पड्काउने चलन छ, यसलाई हटाउनुपर्छ । राम्रा कुराहरुलाई लिएर अगाडी बढ्नुहोला भन्न चाहान्छु । 

तपाईले हिजो बालापनमा मनाउनुभएको तिहार अनि अहिले मनाइदै गरिएको तिहारका बिच कतिको अन्तर देख्नुहुन्छ, आफ्नो अनुभवमा आधारमा हिजो र आजको तिहारमा फरक चाँही के पाउँन सकिन्छ ? 
तिहारमात्र नभई कुनै पनि चाड बालापनमै रमाउँदो हुँदो रहेछ । चाडमात्र होइन की जीवन नै बालापनको रमाइलो हुँदो रहेछ भन्ने मेरो अनुभव हो । किनभने बालापनमा कुनै पनि खालका तनाव हुदैन । कुनै पनि त्यस्ता योजना हुदैनन्, मात्र साथीसंगीसंग रमाइलो गर्ने, खाने खेल्ने, घुम्ने, डुल्ने भएकाले सबै कुरा बच्चा बेलामै रमाइलो हुने गर्दछ । तिहार पनि बच्चा बेलामा धेरै रमाइलो हुन्थ्यो । म बालापन छँदा काम गर्ने शिलशिलामा दाजुहरु बाहिर हुनुहुन्थ्यो । तिहारको बेलामा उहाँहरु आउनुहुन्थ्यो । तिहारमा दाजुहरुको प्रतिक्षामा बस्ने गरिन्थ्यो  । उहाँहरु आउनुभएपछि हामी देउशी र भैलो खेल्न हामी जान्थ्यौं । मलाई अझै याद छ की सानोमा दाजु दिदीहरुसंग देउशी खेल्नका लागि गएको बेलामा म निदाएछु । सबैले छाडेर आएछन् । फेरि मेरो जेठो दाई गएर उठाएर ल्याउनु भएको मलाई याद छ । बाल्यकालमा लक्ष्मी पुजाका दिन भैलो खेल्नका लागि जाने तयारी हामी चार पाँच दिन अगाडी नै गर्ने गरेका थियौं । देउशीभैलो खेल्न जाने दिनका लागि घरको गाइभैसीलाई आवश्यक घाँस काटेर पहिल्यै थुपार्ने गर्थ्यौं । लक्ष्मी पुजाको दिनसम्म घर पोत्ने, सिगार्ने लगायत काम सक्थ्यौं । घरको गाग्री भरिभराउ गरेर पुजा गर्ने गथ्यौं । पुजा पछि खाना खाएर हामी गाउँको सबैभन्दा माथि देखि तलसम्म रातभरी भैलो खेल्थ्यौं । अहिले त्यतिखेर भन्दा अलि फरक छ । त्यतिखेर पाँच–छ दिन अगाडी देखि योजना बनाएर हिड्थ्यौं भने अहिले त्यसो गरिदैन । बालापनमा तिहारमा कामै देउशी भैलो खेल्ने हुन्थ्यो भने अहिले त्यो काम होइन । बालापनमा हामीमाथि जिम्मेवारी हुदैनथ्यो, बाबुआमाको काँधमा जिम्मेवारी हुन्थ्यो । अहिले जिम्मेवारी हाम्रो काँधमा हुने हुँदा हामीलाई जिम्मेवारी बोध हुन्छ । अहिले रमाइलो त हुन्छ रमाइलो गर्नुपर्छ भन्ने हो । वर्षभरी जुन प्रकारको कामको. व्यस्तता,  कामको जुन तनाव हुन्छ त्यसलाई भुलेर आराम तथा मनोरञ्जन गर्नका लागि तिहार मनाउँनुको मज्जा छुट्टै छ । हामी सानो छँदा आफैं मादल बजाउथ्यौं, हामी गीत गाएर नाँच्थ्यौं । देउशी भैलोको गीतहरुको आफैं रचना गथ्र्यौ । तर अहिले साउन्ड सिस्टम बजाउने, अरुको गीत गाउँने चलन छ । त्यतिखेर मौलिकता झल्कने गीत गाउँने गरिन्थ्यो । 

यहाँले पनि भन्नुभयो, त्यतिबेला मौलिकता हुन्थ्यो अहिले त्यस्तो हुदैन । यसरी त तिहारको मौलिकता हराउँन जान थालेको जस्तो लाग्दैन तपाईंलाई ? 
सबै मौलिकता परम्परा हराएको त छैन । लक्ष्मी पुजाको दिन लक्ष्मी पुजा गर्ने, भाइटिकाको दिन भाइलाई पुज्ने टिका लगाइदिने, मिठो परिकार खान दिन चलन छदँैछ । देउशी भैलोको नाँच–गान गर्ने परम्परा चाँही पहिलेको मौलिकता थियो अहिलेको छैन । पहिलेको तुलनामा अहिले मौलिकता हराउँदै गएको हो कि भन्ने लाग्छ । यसैगरी अरुले सिर्जना गरेको गीतमा नाँच्ने गाउँने हो भने त मौलिकता हराउँछ नै । तर हामीले त्यसलाई ध्यान दिनुपर्छ । आगामी पुस्ताहरुले हाम्रो संस्कृति के हो ? संस्कृतिलाई हामीले कसरी जोगाउनुपर्छ ? हाम्रो मौलिकता के हो ? के गर्दा देश अनि संस्कृतिको संरक्षणमा टेवा पुग्छ त्यो गर्नुपर्छ । लक्ष्मी पुजाका लागि सामग्री किन्न जाँदा मैले बजारमा लक्ष्मीको फोटो किन्न आउँनेको भीड थियो । मेरो आँखा त्यहाँ टक्क अडियो । लक्ष्मीको फोटोमा दुई वटा भारतीय नोट छ । सबैले त्यही फोटो लगेर घरमा पुजा गर्ने त हो । हामी लक्ष्मीलाई पुजा गर्छौ त्यो फोटोमा तर भारतबाट भिभिएको फोटो हामी किनिरहेका छौं । बजारमा फुलमाला भारतबाट ल्याएर बेचिएको छ । पोहोरको तुलनामा यो वर्ष नेपालमा फुलमाला धेरै उत्पादन भएको पनि सुनिएको छ । हामीले देखेका छौं हाम्रै गाउँघरमा फुलखेतीमा जोड दिइएको छ । तर पनि हामी नेपालीको यसतर्फ पनि त्यति ध्यान नभई बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । हामी तिहार भनेर रमाइलो गर्ने बत्ति चीनबाट आउने, फूल भारतबाट आउने भइरहेको छ । कृतिम फूल पनि भारतबाट, सयपत्री फूल पनि भारतबाट आउने यो अवस्था त हामी केबल मनोरञ्जनमात्र गरिरहेका छौं भन्ने भयो । हामीले बाहिरबाट आएको चीज लिएर संस्कृति जोगाउने होइन । हाम्रै गाउँठाउँमा उत्पादित चीजबाट मनोरञ्जन गर्नुपर्छ । संस्कति बचाउने हो भने आफ्नो मौलिकता, स्वेदशी उत्पादनलाई रोजाईमा पार्नुपर्छ । 

तिहारको सन्दर्भ पारेर यी कुराकानी गरिरहँदा तपाई उपाध्यक्ष रहनुभएको गाउँपालिकामा तपाईको कार्यानुभव, गाउँपालिकाले अहिले गरिरहेको विकास निर्माण लगायतका विषयमा कुराकानी गरौं । गाउँपालिकामा उपाध्यक्षको जिम्मेवारी बहन गरिरहँदा तपाईलाई कस्तो अनुभूति भइरहेको छ ? 
गाउँपालिकामा उपाध्यक्षको जिम्मेवारी बहन गर्दै गर्दा सुरु सुरुमा अलमल्ल परियो, काम के कसरी गर्ने भन्ने भयो । अब जति बुझ्यो, उति गाह्रो भनेजस्तो पनि भइरहेको छ । कार्यानुभव राम्रै भइरहेको महसुस गरेको छु । सिक्दै काम गर्दै जाने दौरानमा छौं । काम गर्ने सवालमा भीमफेदी गाउँपालिकामा एउटा ऐतिहासिक टिम छ भन्ने मलाई लाग्छ । किनभने वडाअध्यक्षहरु पनि अनुभवी हुनुहुन्छ । हामी अध्यक्ष, उपाध्यक्ष दुवै युवा हौं । कर्मचारी टिम पनि युवा वर्ग नै हुनुहुन्छ । युवा भइकन पनि अनुभवी टिम छ । सबै मिलेर काम अगाडी बढाउनुपर्छ भन्ने भावनामा हामी छौं । कर्मचारी साथीहरुले पनि चिने जानेका जन प्रतिनिधी हुनुहुन्छ हामीले राम्रोसंग काम गर्नुपर्छ भन्ने भावना लिनुभएको छ । सबै जना जन प्रतिनिधी उत्तिक्कै खटिराख्नुभएको छ । म पनि उत्तिक्कै खटिराखेको छु । विभिन्न नीति नियमहरु बनाउँने काम पनि भइरहेको छ । विभिन्न योजनाहरु बनाउँदै कार्यान्वयनमा पनि हामी लागिरहेका छौं । अहिले हामी दोस्रो वर्षको पहिलो र दोस्रो चरणको योजना कार्यान्वयन गर्ने दौरानमा छौं । भौतिक पूर्वाधारमात्र नभई सामाजिक विकासका कार्यहरु देखि लिएर स्वास्थ्य, शिक्षा, खानेपानीका कुराहरुलाई पनि हामीले जोड दिइरहेका छौं । भौतिक पूर्वाधारलाई पनि राम्रो बनाउने उद्घेश्यले रणनीतिक योजनाका रुपमा गाउँपालिकाको तीन वटा रणनीतिक योजना र वडैपिच्छे एउटा–एउटा वडागत योजना छानेर त्यसलाई प्राथमिकताका साथ हामीले अगाडी बढाइरहेका छौं । महिला, बालबालिकाका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकप्रति पनि हामीले ध्यान दिइ राखेका छौं । हामीले नीति नियम बनाउँने कर्मचारीहरुले कार्य गर्ने हो । समग्रमा भीमफेदी गाउँपालिकाका लागि आवश्यक योजना बनाउँदै समृद्घ गाउँपालिका बनाउँन हामी तत्पर छौं । हामी जन प्रतिनिधी, कर्मचारीले गरेर मात्रै पनि हुदैन, यसमा सबैले साथ दिनुपर्छ । हामीले गरिरहेका काम जनताले हेरिरहेका हुन्छन् । जनताको इच्छा, चाहाना, समस्यालाई हामीले कुल्च्यौं भने हामी असफल हुन्छौं । जनताको इच्छा चाहाना एकातिर हाम्रो काम गराई अर्कोतिर भयो भने त्यो राम्रो हुदैन । जनताको चाहानालाई हामीले कत्तिको बुझ्न सकिरहेका छौं भन्ने कुरामा पनि हामी उत्तिक्कै ध्यान दिन्छौं । जन चाहाना अनुसार काम गर्नुपर्छ भन्ने मनसायले हामी अगाडी बढेका छौं । जनतासंग फिडब्याक लिएर काम गरिराखिएको छ । 

पाँच वर्षको कालमा भीमफेदी गाउँपालिकालाई कस्तो बनाउँने भिजन छ यहाँहरुसंग ? 
पाँच वर्षभित्रमा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउँने योजनामा हामी छौँ । नमूना भनेको पनि के के को नमूना भन्ने हुनसक्छ । कुनै पनि टोल बस्तीमा रोडको पहुँच नपुगेको भए रोडको पहुँच पुर्याउने, कोही बिरामी हुँदा आवश्यक एम्बुलेन्स घरघरमा पुग्न नसकेपनि टोलसम्म पुगोस् भन्ने हाम्रो सोच हो । यस्तै, भीमफेदी गाउँपालिकामा प्राविधिक शिक्षालाई प्राथमिकता दिएर घोकन्ते शिक्षा होइन अब प्राविधिक शिक्षालाई अघि बढाउने भन्ने हिसाबले हामीले दुई वटा स्कूलमा एउटामा बाली विज्ञान, सिभिल सव ओभरसियर पढाउदैछौं । अर्को एउटा विद्यालयलाई पनि प्राविधिक शिक्षालयका रुपमा अघि बढाउने हो कि भन्ने छलफलमा छौं । १८ महिने कोर्स होे यो, यसलाई डिप्लोमा हुदै अघि बढाउने हाम्रो लक्ष्य छ । जुन की प्राविधिक शिक्षालाई अगाडी बढायौं भने अहिले जनताले रोजगारी चाहियो भनिराखेको अवस्थामा हामीले रोजगारी दिन सकिराखेका छैनौं । प्राविधिक शिक्षा पढाइयो भने आफैं रोजगारी प्राप्त गर्न सकिन्छ । यस्तै, अङ्ग्रेजी माध्यमलाई प्राथमिकता दिने पनि हामीले योजना बनाएका छौं । त्यसको अर्थ चाँही फेरी नेपालीलाई कम प्राथमिकता दिने होइन की विश्व भाषा अङ्ग्रेजी सबैले जान्नुपर्छ । नेपाली भाषाको पनि संरक्षण गर्नुपर्छ । गाउँपालिकाका आठ वटा माविहरु मध्येमा अहिले केही माविबाट सुरु गर्ने र पछि सबैमा लागू गर्ने, कक्षा १ देखि ५ सम्म अनिवार्य रुपमा अङ्ग्रेजी माध्यमबाट पढाई सुरु गर्ने भन्ने हाम्रो योजना छ । वडैपिच्छे स्वास्थ्यको इकाई राख्ने, त्यस वडाका नागरिकलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या प¥यो भने त्यही वडाबाट समाधान होस् भन्ने हाम्रो सोच छ । वडाबाट स्वास्थ्य समस्या समाधान नहुनेहरुका लागि गाउँपालिकास्तरिय १५ शैयाको अस्पताल पूरानो भीमफेदी अस्पताललाई बनाउँने योजना  छ ।  र अर्को कुरा, पर्यटकीय हिसाबमा पनि भीमफेदी गाउँपालिका उदाहरणीय गाउँपालिका बन्न सक्छ । भीमफेदी गाउँपालिका वडा नम्बर १, भैसेको सुपारेटार ब्यारेक हेटौंडासंग जोडिएको छ । त्यहाँ असाध्यै तातो हुन्छ । त्यहाँबाट माथि जाने हो भने सिमभञ्ज्याङ छेउ, त्यसपछि यता गढी देउराली त्यहाँ असाध्यै चिसो हुने ठाउँ पनि छ । वातावरणीय हिसाबमा पनि आधा घण्टाको बिचमा अत्यन्त तातो, अत्यन्तै चिसो हुने ठाउँ छ । यस्तो ठाउँलाई रमणीय, पर्यटकीय हिसाबले विभिन्न पौडी पोखरी निर्माण गर्ने, पिकनिक स्पोट निर्माण गर्ने, बञ्जिजम्प निर्माण गर्ने, क्यानोइङ खेल्ने ठाउँ निर्माण गर्ने र हामीले सक्यौं भनेदेखि भीमफेदीको ६ नम्बर वडा अथवा ४ नम्बर वडाबाट माथि सिमभञ्ज्याङसम्म केबलकार सञ्चालन गर्ने सोच छ । केबलकार निर्माणका विषयमा थाहानगरका मेयर साबले पनि चासो देखाई राख्नुभएको छ । केबलकारको स्थापना हामीले गर्न सक्यौं भने सिमभञ्ज्याङ र भीमफेदी एकदमै राम्रो पर्यटकीय क्षेत्र बन्नसक्छ भन्ने हाम्रो भनाई हो । सहकारिताको क्षेत्रमा राम्रो गर्ने सहकारीलाई एकीकरण गर्ने, विषयगत सहकारीलाई विषयगत काम गर्न प्रेरित गर्ने, शैक्षिक क्षेत्रमा पनि गुणस्तरिता विकास गर्नुपर्नेछ । स्वास्थ्य वर्तमान हुन्छ, शिक्षा भविष्य हुन्छ । त्यसो भएकाले वर्तमान र अविष्यलाई ध्यान दिदै अगाडी बढ्ने सोचमा हामी छौं । पछाडी पारिएका प्रजा जातिको विकासका लागि काम गर्ने गाउँपालिकाको योजना छ । महिलाहरुको सीपमूलक काम, युवाहरुलाई स्वरोजगारमूलक योजनाहरु, ज्येष्ठ नागरिकलाई सम्मानमूलक कार्यहरु, आमा र बच्चाका लागि सुरक्षा दिनका लागि, आमा र बच्चाको अकालमा मृत्यु नहोस् भन्नका लागि मातृ शिशु स्याहार कार्यक्रम भनेर प्रोत्साहन भत्ता थपदिने कुराहरु देखि लिएर हरेक हिसाबमा हामीले योजना बनाइरहेका छौं । अर्को महत्वपूर्ण कुरा हामी भिलेज प्रोफाइल बनाउँदैछौं । सबै वडामा इन्टरनेटको पहुँच पु¥याएर इन्टरनेटबाट हेर्ने बित्तिक्कै गाउँपालिकामा कति घर छन्, कुन कुन जाति छन्, स्कूल कहाँ छ, कसको जनसङ्ख्या कति छ, मान्छेले घरमा कुखुरा, बाख्रा कति पालेका छन् सबै विवरण आउँने गरेर हामीले GPS  कोडिनेट बेसबाट भिलेज प्रोफाइल तयार गरिहेका छौं । यसबाट पनि हाम्रो गाउँपालिकामा रहेका सबै क्षेत्रको बस्तुस्थिती देख्न सकिने हुँदा काम गर्नका लागि हामीलाई सहज हुनेछ । 

यहाँले आफ्नो गाउँपालिकाले कार्यकालभित्र गरिने विभिन्न योजनाहरु सुनाउनुभयो । यत्तिका योजनाहरु कार्यान्वयनमा  समस्या, चुनौती चाँही के के देख्नुहुन्छ ? 
काम गर्ने दौरानमा समस्या तथा चुनौतीहरु त भइहाल्छ । जसले काम गर्छ उसलाई समस्या आउने हो, उसलाई चुनौती हुने हो । काम नगर्नेलाई केही पनि समस्या हुदैन । जो घरमा बसिरहन्छ उसलाई के समस्या हुन्छ र ? घरबाट निस्केर केही गर्छु भन्नेका लागि समस्या हुने हो । तसर्थ, समस्याहरु धेरै छ । हाम्रो भूगोल हेर्दा सुगम जस्तो तर दुर्गम ठाउँ हो । हामीले जति काम गरेपनि भौतिक पूर्वाधारको कामलाई चाँही पूरा गर्न सक्दैनौं । बाटो निर्माण गर्ने भन्ने हुन्छ तर एकदमै चट्टानहरु भएको हुनाले हाम्रो नीति अनुसारको बाटो पु¥याउन नसक्ने हुनसक्छ । हामीले नयाँ ट्रयाक खोल्दा साँढे ४ र पूरानोका लागि ५ भनेर बनाएको भनेर बनाएका छौं । राम्रो सहज ठाउँमा त त्यो पु¥याउँन सक्छौं तर भीरपाखा, डाँडाकाँडामा त्यो पूरा गर्न गाह्रो छ । अर्को कुरा चाँही जनचेतनाको कमी भएको हुँदा बाटो स्तरिय बनाउँनुपर्छ, गाउँपालिकाको नम्स अनुसार अगाडी बढाउनुपर्छ भनिराख्दा जनताले होइन पहिले माथि डाँडासम्म पु¥याउनु पर्छ भन्छन् । यस्तोमा आवश्यक सचेतना पु¥याउँन सकिएको छैन । बजेट कम छ, मागहरु धेरै छ । गाउँपालिकाको आफ्नो भवन नभएकाले भाडामा बसिरहेका छौं । हाम्रो भवन पनि अब तत्कालै बन्दैछ । हामीले ८ रोपनीको जग्गा पनि जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको विशेष सहयोग र सबैको सहयोग जग्गा हाम्रो नाममा आइसकेको छ । यसका लागि आवश्यक बजेट पनि हामीले छुट्याइसकेका छौं । भवन बनाउँने योजना पनि छ । अहिले भाडामा बस्नुपर्दा सबै विषयगत कार्यालयहरु, विषयगत व्यक्तिहरु छुट्याएर काम गर्न सकिराखेको अवस्था छैन । अर्को समस्या भनेको साधनको समस्या हो । गाउँपालिकाको योजना अनुगमन गर्न जानुपर्छ । मोटरसाइलमा जानसक्ने अवस्था छैन, धेरै टाढा टाढा र धेरै विकट ठाउँहरु छ । साधन नभएकाले भन्ने बित्तिक्कै योजना अनुगमन गर्नका लागि हिड्न सकिदैन । गाउँमा बोलाइने कार्यक्रमहरुमा पुग्न सकिन्न । इपा, कोगटे नामटार जानलाई स्कुटरमा जान पनि नसक्ने अवस्था छ । गाउँपालिकाको १, २ नम्बर वडा पनि हेर्दा बजार नजिकै हो । तर माथि धेरै डाँडाकाँडा कैलाश, माथि वडा नम्बर ३ को भूमीचुलीदेखि धेरै टाढा टाढा छ । अनि अर्को कुरा हामीले सबै जनतालाई योजना यसरी सम्झौता गर्ने, यसरी फर्छ्यौट गर्ने, यो विधीहरु पूरा गर्नु पर्दछ भनेर भन्न नसक्दा उहाँहरु आउँनुहुन्छ कागजी प्रकृयाहरु पूरा गर्न नसक्दा पटक पटक फर्किनु परेको अवस्था छ । हामीले नियतबस उहाँहरुलाई दुःख दिन खोजेको होइन । महिला सशक्तीकरण गर्ने भनिरहँदा महिलाहरुले उचित योजना ल्याएर कार्य गर्न सकिरहेको अवस्था छैन । युवाहरुलाई रोजगारीको अवस्था सिर्जना गर्ने, स्वरोजगार बनाउँने, सिपमूलक कार्य गराउँने भनिरहँदा त्यस्तो खालका कार्यक्रम उहाँहरुले पनि माग गर्न सक्नुभएको छैन । अनि हामीले पनि यस्ता खालका कार्यक्रमहरु गर्नु भनेर भनिरहेका छैनौं । नीति, नियमहरु सबै बनाउँन सकिरहेका छैनौं, बनाएका छौं तर अपुग छ । कार्यविधीहरु बनाउँन बाँकी छ । कर्मचारीको अभाव छ, न्योयिक समिति हेर्ने व्यक्ति अहिले पनि हामीले राख्न सकेको अवस्था छैन । जनताले चाहे अनुसारको न्यायको हिसाबमा हामीले काम गर्न सकिरहेका छैनौं । 

न्यायको सन्दर्भ यहाँले उठाइहाल्नुभयो । गाउपालिकाको न्यायिक समितिको संयोजक तपाई नै हुनहुन्छ । न्यायिक समितिले काम गर्न नसक्दा गाउँपालिकामा कता कस्ता समस्याहरु आइरहेका छन् ? 
न्यायिक समितिले काम नगरेको भन्न त मिल्दैन, हामीले काम गरिरहेका छौं । एउटा गाउँपालिकामा दुई देखि ३ जनासम्म न्याय हेर्ने मानिस चाहिन्छ । तर हामीसंग एक जना पनि नहुँदा समस्या भएको हो । कर्मचारीले कागजपत्र पूरा गरेर हामीलाई फलोअप गर्नुपर्ने ठाउँमा अहिले कर्मचारी नहुँदा सबै प्रकृया पूरा गर्दै यसरी यो गर्नु भन्नु परेको अवस्था छ । तर अब कामै गर्न नसकेको भन्ने होइन  । हामीले धेरै विवादहरुलाई मिलाएका छौं । धेरै विवादहरुलाई निरुपण गरेका छौं । वडागत रुपमा पनि न्यायिक समिति मेलमिलाप केन्द्र राख्ने भनिरहँदा हामीसंग बजेट कम भएको हुनाले वडागत रुपमा राख्न सकिदैन भनेर वडा नम्बर १, २ र ९ को लागि एउटा सेन्टर, ३ र ४ का लागि एउटा सेन्टर ५ र ६ का लागि एउटा सेन्टर र ७ र ८ का लागि एउटा सेन्टर बनाएर न्यायिक समिति मेलमिलाप केन्द्र खडा गरिसकेका छौं । हामीले बोर्ड टाँस्न बाँकी छ । केही विवादहरु मेलमिलाप केन्द्रमार्फत उहाँहरुले नै हेर्नुहुन्छ । उहाँहरुले मिलाउन नसकेका विवादहरु चाँही हामीसम्म आउँछ । हामीले पनि त्यसलाई छलफलमा लैजान्छौं । विवादलाई मेलमिलापमा लैजान्छौं, मेलमिलाप गराउँछौं । हामीमाझ नभएको, हामीले सुल्झाउन नसकेको विवादहरुलाई तपाई अदालत जान सक्नुहुन्छ भनेर सल्लाह दिइरहेका छौं । अहिले कर्मचारी अभाव छैन भन्ने कुरा हो । इजलाश भवन बनाउँन सकिएको छैन । आफ्नै कार्यकक्षमा मेलमिलाप गर्नुपर्छ भन्ने कुरा हो । जनताले अलि ढिला भयो भनेर गुनासो गर्ने गरेका छन् । हाम्रो छुट्टै कार्यालय नहुँदा कहिलेकाँही फाइलहरु तलमाथि हुँदा तपाईहरुले फाइल चाँही मिलाएर राख्न सक्नुभएन, हेलचेक्राई भयो भन्ने गुनासो आइरहेको छ । एक एक गरेर फाइल चेक गर्दै, हेर्दै, राख्दै विवादहरु हामीले मिलाइ राखेका छौं । अहिले विशेषगरी महिला, वृद्घा, साना–साना नानी तथा पुरुषहरु पनि न्यायका लागि न्यायिक समितिमा आउनुभएको छ । यौन हिंसा सम्बन्धि, भैझगडा सम्बन्धि, आली, धुर, बाली नासिएको कुरा देखि लिएर बाटो विवाद, वैदेशिक रोजगारका कारण श्रीमान् श्रीमतीको झगडा, लेनदेन विवाद लगायतका सवालमा मुद्घा पर्ने गरेका छन् । सकेसम्मका विवाद हामी हल गर्न नसकेका अदालत जान सल्लाह दिन्छौं यसैगरी अघि बढिएको छ । 

कुराकानीका क्रममा तपाइले गाउँपालिकाका योजना, भिजन सबै कुराहरु बताउनुभयो । जनताको विकासको चाहाना तिब्र छ । स्वरोजगार देखि विकास निर्माणसम्मका आकांक्षाहरुलाई आफ्नो कार्यकालमा सम्बोधन गर्न चाँही सकिएकला की नसकिएला के लाग्छ तपाईलाई ? 
जनताको चाहना धेरै छ, काम गर्नुपर्ने पनि धेरै छ । हामीसंग स्रोतसाधन कमी छ । जनशक्ति कमी छ । बाहिर बसेर हेर्दा केके न गर्नसक्छु भन्ने पदमा रहेर काम गर्न धेरै बाधा अड्चनहरु हुँदो रहेछ । नीतिगत बाधा–अड्चन हुँदो रहेछ, व्यवहारिक बाधा अड्चनहरु हुँदो रहेछ । त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्ने हुन्छ । मैले चाँही जनतामाझ, मैले मान्नुपर्ने मेरो सम्मानीय व्यक्तित्वहरुलाई म के भन्न चाहान्छु भने एकै पटक परिवर्तन देखिदैन भर्खर डेढ वर्ष भयो । डेढ वर्षमा पूरै परिवर्तन गर्न नसकिएपनि हामीले धेरै कामहरु गरेका छौं । पाँच वर्षभित्रमा नागरिकले चाहे अनुसार, सोचे अनुसार देखिने गरी कार्य गर्नेछु । यो मेरो प्रतिबद्घता हो । जन प्रतिनिधी नहुँदा बाहिर बसेर पनि जनताको मसिनो मसिनो कामहरु, मसिनो मसिनो समस्या समधान गर्दै कुनै पनि चाडपर्व दशैं तिहार केही पनि नभनि कार्य गर्दै आइराखेको व्यक्ति हुँ । नागरिकले चुनाव जिताएर उपाध्यक्ष बनाएका छन् । बाहिर बसेर काम गरेको मान्छेले भित्र हुँदा पक्कै पनि काम गर्छ भन्ने कुरामा विश्वस्त हुनुहोस् । तर बाहिर बस्दा जति सजिलो छ पदमा पुग्दा काम गर्न त्यतिनै गाह्रो पनि रहेछ । त्यो कुरा मैले अहिले महसुस गरिरहेको छु । जनताको चाहाना विपरित मैले कुनै कार्य गरे वा गर्न खोजे भने मलाई सल्लाह सुझाव दिनुहोला । टोलटोल पुगर योजना छनौट गरेर, वडा वडामा पुगेर योजना छनौट गरेर, बजेट योजना तर्जुमा समितिम छलफल गरेर, कार्यपालिकामा छलफल गरेर अनि गाउँसभामा लगेर पास गरेर अनि नीति नियम बनाउनेछु । कार्यान्वयन गर्ने बेलामा कर्मचारीहरु हुनुहुन्छ । आपसमा मिलेर कार्यान्वयन गरिनेछ । चुनावताका बनाइएका घोषणापत्रमा उल्लेख भएबमोजिम सबै काम त पूरा गर्न नसकिएला तर त्यही घोषणपत्र, योजना अनुसार नै हमीले काम गरिरहेका छौं । सत प्रतिशत त कसैले पनि पूरा गर्न सक्दैनन् कम्तिमा ८० प्रतिशत चाँही हाम्रा घोषणा तथा प्रतिबद्घता पूरा गर्नेछौं । हिजोका दिनम घोषणापत्रमा छुटेका तथा योजनामा नपरेका अन्य आवश्यक योजना पनि हामी अघि बढाउने छौं । पक्कै पनि पाँचवर्षे कार्यकाल भित्र भीमफेदी गाउँपालिकामा यति काम भयो भन्ने ढङ्गले कार्य गर्नेछु । यसमा हामी जन प्रतिनिधी लाग्नुपर्छ, म एक्लैले गरेर पनि केही हुदैन । राम्रो कामका लागि जनताले पनि आफ्नो ठाउँबाट साथ दिनुपर्छ । आफ्नो कार्यकालमा नागरिकको इज्जत राख्दै, शिर उचो हुने गरी काम गर्न लागि परिरहनेछु । 
 

parbati-rana-2-1541617239.jpg
final-boys-and-girls-host-1499435564.gif
20561725_1432833100103454-1501578658.png
ncell1140-1502212343.gif


himal-dental-clinic-1500888499.gif
hetauda-city-college-1502267218.gif
churiyamai-fashion-link-1502512433.gif
ClubWSP-1499412212.gif
तलब भन्दा बढी खुशी गीत संगीतबाट पाउँछु : विषम  
bisam-gautam-(1)-1541875364.jpg

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका विषम गौतम अहिले हाल अस्ट्रेलीया सिड्नीमा बसोबास गर्छन् ।...

यात्रु ठग्ने टाटासुमोलाई प्रशासनको साथ
tatasumo-pic-1541870762.jpg

मकवानपुर। मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म सञ्चालन हुने टाटासुमोले यात्रुलाई ठगिइरहेको बारम्बार गुनासो...

सहिद रुद्र स्मृति बाटिका, मकवानपुरगढी 
rudra-batika-1541863565.jpg

रुद्र स्मृति बाटिका, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको छ । हेटौंडाबाट ५ किलोमिटर पूर्व र चौघडाबाट करिब...

घोषणाको नाटक नगरौं 
madhyaban-shiva-1541855212.jpg

मकवानपुरलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा भएपछि धेरैले भनेका थिए-‘घोषणा त भयो तर कार्यान्वयन होला त  ?’...

कविता  : गाउँको घर
yas-lama-1541852776.jpg

एस लामा  म्युजिक लाइट  छैनन् बार्दलीहरूमा झुण्ड्याएका छन् प्रायश :  पाकेका पहेँला फर्सी र काक्रा...

अलैचीं खेची प्रविधि 
alaichi-2-1541852443.jpg

- डि.एन. दाहाल   प्रा.स. बकैया गाउँपालिका, मकवानपुर  अलैचींबाट हामीले मनग्ये आम्दानी लिन सक्छौं । सुरुमा...

दोहोरीमा ‘फोहोरी धन्दा’ नहोस् 
Madhyasthata-Eng-1541865589.png

गीत सङ्गीत मन नपर्ने मानिस को होला ? बालक, वयश्क, वृद्घ सबैलाई सङ्गीत मनपर्छ । यस्तो लाग्छ, बिरामी समेत आफूलाई मन...

तिहार सकियो, कारवाही नरोकियोस्  
Madhyasthata-Eng-1541847949.png

तिहारमा नेपालीको घरघरमा रौनकता छायो । तिहारका सामाग्रीले बजार रङ्गियो । तिहारको झिलिमिलीले कसको पो मन नरमाउला ?...

‘आत्मनिर्भर भएपछि विवाह गर्छु !’ 
anu-rai-(3)-1541845912.jpg

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारी तीनतले निवासी अनु राईलाई सामाजिक अभियानमा सरिक हुन रहर लाग्छ...

गजल
gazal-sarita-bhatta-1541684450.jpg

सरिता भट्ट सोह्रै आना तिम्रो नै प्यारमा छु म  पाउनु नै पर्छ भन्ने सारमा छु म ।। कास म तिम्रो मुटुमा...

kingsman-1503123179.gif
get_img-1502212982.gif
missssssssssssssss-1502692855.jpg