उषाको उज्यालो यात्राः फुर्केचौरदेखि अमेरिकाको विश्वविद्यालयसम्म

मकवानपुर । मकवानपुरको हेटौँडास्थित फुर्केचौरको एउटा सामान्य घरमा जन्मिएकी उषा खतिवडाको बाल्यकाल अरु धेरै नेपाली विद्यार्थीको जस्तै साधारण थियो । न महँगो विद्यालय, न विशेष सुविधा । सरकारी विद्यालयको सामान्य कक्षाकोठाबाट सुरु भएको उनको यात्रा आज अमेरिकाको प्रतिष्ठित सान डियागो स्टेट विश्वविद्यालयसम्म पुगेको छ । तर यो यात्रा केवल उपाधि प्राप्तिको कथा होइन, निरन्तर संघर्ष, आत्मविश्वास र समाजप्रतिको जिम्मेवारीको कथा पनि हो ।

उषाले प्रारम्भिक शिक्षा हेटौँडाको बंशगोपाल प्राविधिक विद्यालयबाट हासिल गरिन् । सरकारी विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीहरूमा अवसर सीमित हुन्छ भन्ने सोच गहिरो रूपमा बसेको देखिन्छ । तर उषाले सानैदेखि त्यो सीमालाई स्वीकार गरिनन् । उनी पढाइमा लगनशील थिइन् र आफूलाई परिस्थिति होइन, क्षमताले चिनाउने अठोट बोकेर अघि बढिरहिन् ।

विद्यालयपछि उनले मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान विषय अध्ययन गरिन् । त्यही समयदेखि उनको सपना अझ स्पष्ट बन्दै गयो कि उनी इन्जिनियर बन्न चाहन्थिन् । विज्ञानप्रतिको रुचि र मेहनतले उनलाई काठमाडौंसम्म पुर्‍यायो, जहाँ उनले कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरिन् ।
तर उनका लागि इन्जिनियरिङ केवल व्यक्तिगत सफलताको माध्यम थिएन । उनी यसलाई समाज परिवर्तनसँग जोडिएको जिम्मेवारीपूर्ण पेशाका रूपमा हेर्थिन् । यही सोचले उनलाई २०७२ सालको विनाशकारी भूकम्पपछि विद्यालय पुनर्निर्माणको अभियानतर्फ तान्यो ।

भूकम्पले देशभर हजारौँ विद्यालय भवन भत्किएका थिए । कतिपय विद्यार्थी खुला चौरमा, कतिपय टहरामुनि पढ्न बाध्य थिए । त्यही कठिन समयमा उषाले साइट इन्जिनियरका रूपमा विभिन्न जिल्लामा पुगेर विद्यालय पुनर्निर्माणमा काम गरिन् । भग्नावशेषबीच बसेर पढिरहेका बालबालिकाको पीडा र अभिभावकको चिन्ता उनले नजिकबाट महसुस गरिन् । ‘विद्यालय भनेको केवल भवन होइन, त्यो भविष्य निर्माण गर्ने ठाउँ हो ।’ उषा भन्छिन्, ‘त्यसैले सुरक्षित र गुणस्तरीय पूर्वाधार निर्माण गर्नु मेरो लागि पेशाभन्दा पनि दायित्व बनेको थियो । ’
त्यो अनुभवले उनको सोचलाई अझ परिपक्व बनायो । उनले बुझिन् – पूर्वाधार केवल इँटा र सिमेन्टको संरचना होइन, त्यो समाजको भविष्यसँग जोडिएको विषय हो । यही बुझाइले उनलाई अझ ठूलो ज्ञान र अनुभव हासिल गर्ने लक्ष्यतर्फ अघि बढायो ।

नेपालमै संघर्ष गर्दै अघि बढेकी उषाको यात्रा पछि अमेरिका पुग्यो । अहिले उनी अमेरिकाको सान डियागो स्टेट विश्वविद्यालयमा निर्माण इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययन पुरा गरेकी छिन् । परिवारबाट विदेशमा उच्च शिक्षा हासिल गर्ने पहिलो पुस्ताकी सदस्य बनेर उनले आफ्नो परिवार र समुदायका लागि नयाँ सम्भावनाको ढोका खोलेकी छन् ।

अमेरिकामा अध्ययनका क्रममा उनले ‘लाटिना लिडरसिप आउटस्ट्यान्डिङ ग्राजुएट मेडालियन’ सम्मान पनि प्राप्त गरिन् । यो सम्मान केवल शैक्षिक उपलब्धिको प्रमाण मात्र थिएन, नेतृत्व क्षमता, निरन्तर मेहनत र संघर्षको कदर पनि थियो । तर उषाको सपना धेरै नेपाली युवाजस्तै विदेशमै स्थायी बसोबास गर्ने छैन । उनी नेपाल फर्केर आफ्नै देशको पूर्वाधार विकासमा योगदान दिन चाहन्छिन् । विशेषगरी सुरक्षित विद्यालय निर्माण र गुणस्तरीय इन्जिनियरिङ अभ्यासमा आफूले सिकेको ज्ञान प्रयोग गर्ने उनको योजना छ । ‘नेपालले मलाई सपना देख्न सिकायो ।’ उनी भावुक हुँदै भन्छिन्, ‘म जहाँ पुगेकी छु, त्यो मेरा गुरु, अभिभावक र समाजकै कारण सम्भव भएको हो । त्यसैले मैले सिकेको कुरा नेपालमै प्रयोग गर्न चाहन्छु । आफ्नै देशका लागि केही गर्न सक्नु नै मेरो सबैभन्दा ठूलो सपना हो ।’

आजको समयमा सरकारी विद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीहरूका लागि उषाको सफला प्रेरणा बनेको छ । जसले कहिलेकाहीँ आफूलाई अवसरभन्दा टाढा ठान्छन्, उनीहरुका लागि उषा उदाहरण हुन् । सफलता विद्यालयको भवनले होइन, मेहनत, निरन्तरता र आत्मविश्वासले तय भन्ने उनको संघर्ष र प्राप्त भएका सफलताले प्रष्ट पार्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.