मकवानपुरको राजनीति, शिक्षा, स्वास्थ्य, कृषि र सुशासनका एजेन्डाबारे राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सचिव अधिवक्ता बिशभ अधिकारीसँग गरिएको कुराकानी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरमा युवा पुस्ताको नेतृत्व छ । संगठन विस्तार र भावी योजना कसरी अगाडि बढिरहेको छ ?
हाम्रो यो पहिलो ऐतिहासिक महाधिवेशन र जिल्ला अधिवेशनबाट युवा टिम नेतृत्वमा आएको छ । अहिले हामी संगठनलाई मजबुत बनाउन कार्ययोजनासहित लागेका छौँ । फ्रान्समा इम्यानुएल म्याक्रोनले पार्टी खोल्दा परम्परागत दलबाट मान्छे ल्याउनुभन्दा समाजका डाक्टर, इन्जिनियर, अधिवक्ता र विभिन्न विधाका विशेषज्ञहरूलाई जोडेर पार्टी बलियो बनाएका थिए । त्यही शैलीमा हामीले पनि मकवानपुरमा नयाँ, ऊर्जावान्, फ्रेस र हुटहुटी भएका व्यक्तिहरूलाई ‘हेड हन्टिङ’ गरेर पार्टीमा जोड्ने कार्ययोजना बनाई संगठनमा सर्कुलेट गरेका छौँ ।
जिल्लाका दशवटै स्थानीय तहमा पुग्नुभएको छ, जनताका तत्कालीन अपेक्षा र समस्याहरू के देख्नुभयो ?
विशेषगरी ग्रामीण भेगमा भूमिहीन सुकुम्बासीको लालपुर्जा, बिजुली र खेतीको समयमा मल नपाउने समस्या प्रमुख छन् । जस्तै, राक्सिराङको एउटा बस्तीमा बिजुली नपुगेको गुनासो आएपछि मैले आफैँ विद्युत् प्राधिकरणका प्रमुखलाई भेटेर सर्भे गराई बिजुली पुर्याउने पहल गरेको छु । हामी जनताका स्थानीय समस्या समाधान गर्न निरन्तर लागिरहेका छौँ ।
गाउँमा किसानले अझै सहजै मल पाउन सकेका छैनन्, यसमा पार्टी र सरकारको तर्फबाट के भइरहेको छ ?
सरकारले यो वर्ष ५ लाख ५० हजार मेट्रिक टन मल ल्याएको छ, जसमा कुल कृषि बजेटको ५९ प्रतिशत अर्थात् करिब ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट अघिल्लो वर्षभन्दा १२ प्रतिशतले बढी हो । यद्यपि, ‘स्ट्रेट अफ हर्मुज’ लगायतका क्षेत्रमा युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बजेट धेरै हुँदा पनि वितरणमा केही समस्या देखिएको हो । हिजोको तुलनामा हामीले बढी नै मल भित्र्याएका छौँ ।
मकवानपुरमा रोजिरोटीको संकटसँगै ग्रामीण भेगमा गाँजा र सहरमा लागुऔषधको समस्या विकराल बन्दै गएको छ, यसलाई कसरी समाधान गर्ने ?
म कानुन व्यवसायी (अधिवक्ता) पनि भएको नाताले हेर्दा मकवानपुरमा सम्बन्धविच्छेद र लागुऔषधका मुद्दा अत्यधिक छन् । युवाहरूलाई सही ठाउँमा परिचालन गर्न नसक्दा र शिक्षा प्रणालीमा कमजोरी हुँदा यो अवस्था आएको हो । हामीले ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’तर्फ लैजानुपर्छ । यसका लागि विद्यार्थीहरूलाई पुनःस्थापना केन्द्रमा लगेर दुव्र्यसनमा फसेकाहरूको भोगाइ सुनाउने, परिवारलाई सचेत गराउने र लागुऔषध छाडेर स्वस्थ जीवन बाँचिरहेका व्यक्तिहरूलाई सहभागी गराएर कानुनी सचेतना चलाउनुपर्छ । सीमा तथा नाकामा सुरक्षा जाँच कडा पार्नुपर्छ । अर्कोतर्फ, गाँजालाई कृषि उत्पादनसँग जोडेर सदुपयोग गर्न आवश्यक कानुनी संशोधनका विषयमा पनि बहस छेडिनुपर्छ ।
राजमार्गमा गाँजा ओसारपसार भइरहँदा सुरक्षा जाँच फितलो भएको देखिन्छ नि ?
राजमार्गमा सबै गाडीलाई रोकेर जाँच गर्न व्यावहारिक रूपमा सम्भव हुँदैन, प्रहरीले पनि सुराकी वा आशंकाका आधारमा गर्ने हो । त्यसैले बाटोमा मात्र हेर्नुभन्दा गाँजाको उत्पादन तह र स्रोत (मुहान) मै पुगेर नियन्त्रण गर्नु बढी प्रभावकारी हुन्छ ।
मकवानपुरमा तरकारी उत्पादन राम्रो भए पनि किसानले उचित मूल्य नपाउने र बिचौलियाको सिन्डिकेट रहने समस्या पुरानै छ, यसको समाधान के हो ?
यसका लागि हामीले ‘फार्म टु मार्केट’ (खेतदेखि सिधै बजार) को अवधारणा लागु गर्नुपर्छ । वडा(वडा तहमा किसानका छोराछोरीलाई प्रविधिमैत्री बनाएर एउटा आधुनिक मोबाइल एप सञ्चालन गर्न सिकाउनुपर्छ, जहाँ किसानले आफ्ना उत्पादन सूचीकृत गरेर सिधै बजारमा बिक्री गर्न सकून् । यसले बिचौलिया हटाउन मद्दत गर्छ । साथै, कृषिप्रधान देश भए पनि आजसम्म ‘किसान ऐन’ नभएकाले किसानको हक सुनिश्चित गर्न ऐन ल्याउनु आवश्यक छ । भारतमा जस्तै प्राकृतिक विपत्तिबाट बाली नष्ट हुँदा सरकारले राहत दिने बिमा प्रणाली पनि विकास गर्नुपर्छ ।
शिक्षा क्षेत्रमा सुधारका लागि तपाईंहरूको ठोस योजना के छ ?
शिक्षामा वास्तविक समानता र सामाजिक न्याय ल्याउन एउटै पोशाक (ड्रेस), एउटै पाठ्यक्रम (सिलेबस) र एउटै शैक्षिक क्यालेन्डर लागु गर्नुपर्छ । सरकारी र निजी दुवै विद्यालयका विद्यार्थीले एउटै किताब पढ्ने वातावरण बन्यो भने ज्ञानमा विभेद हुँदैन र प्रतिस्पर्धा निष्पक्ष हुन्छ ।
क्याम्पस र विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गुणस्तर खस्किएको विषयलाई कसरी हेर्नुभएको छ ?
शिक्षा र राजनीति पूर्ण रूपमा अलग हुनुपर्छ । शिक्षामा राजनीति हुनुहुँदैन र राजनीतिमा शिक्षा हुनुहुँदैन भन्ने रास्वपाको स्पष्ट नीति छस त्यसैले हामीले कुनै पनि विद्यार्थी वा जनवर्गीय संगठन बनाएका छैनौँ । आज चित्लाङको प्राविधिक शिक्षालय वा हेटौँडाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा दलहरूको हस्तक्षेपले संस्था कमजोर बनेका छन् । सैद्धान्तिक थेसिस लेखाउनुभन्दा खेतबारीमै बीउ उमार्नेजस्ता व्यावहारिक सीप सिकाउनुपर्छ । जस्तै, ल कलेजका विद्यार्थीलाई हप्ता-दश दिन ट्राफिक स्वयंसेवक बनाएर सडक सचेतना गराउन सकिन्छ । मकवानपुर चट्याङ प्रभावित जिल्ला भएकाले युरोपमा निःशुल्क पढाइ हुने ‘चट्याङ इन्जिनियरिङ’मा यहाँका विद्यार्थीलाई पठाएर स्थानीय समस्या समाधानमा जोड्न सकिन्छ ।
हेटौँडा अस्पतालमा सर्वसाधारणले समयमै उपचार नपाउने, सामान्य शल्यक्रियाका लागि महिनाँै कुर्नुपर्ने र पोस्टमार्टम रिपोर्टसमेत शंकास्पद हुने जनगुनासो छ नि ?
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौँडा अस्पतालप्रति नागरिकको विश्वास घट्नु अत्यन्तै दुःखद हो र म आफैँ पनि यसको भुक्तभोगी हुँ । नागरिकले अस्पताल वा प्रशासनमाथि विश्वास नगर्नु भनेको राज्यप्रति नै विश्वास गुम्नु हो । यसको दीर्घकालीन समाधानका लागि दिल्लीको ‘मोहल्ला क्लिनिक’ जस्तै मकवानपुरका १०२ वटै वडामा १५ देखि २० शय्याका वडा अस्पतालरक्लिनिक सञ्चालन गर्नुपर्छ । त्यहाँबाट सामान्य शल्यक्रिया र प्राथमिक उपचार उपलब्ध गराउने र जटिल केस मात्र हेटौँडा अस्पताल रेफर गर्ने नीति लिनुपर्छ ।
५७ सालदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने चर्चा फेरि सुरु भएको छ, के यो सम्भव छ ?
यस विषयमा हाम्रो क्षेत्र नम्बर २ का माननीय सांसद र उद्योगमन्त्रीले स्थलगत निरीक्षण गरिसक्नुभएको छ र सरकार यसप्रति अत्यन्तै गम्भीर छ । ५७ सालमा बन्द भए पनि हेटौँडा कपडा उद्योग यहाँका नागरिकको भावनासँग जोडिएको छ । अहिले यसको डीपीआर तयार गरिँदैछ र अत्याधुनिक मेसिन जडान गरेर सरकारले यसलाई सञ्चालनमा ल्याउनेछ । उद्योग चलेपछि विद्यार्थी, नेपाली सेना र बागमती प्रदेश प्रहरीलाई आवश्यक पर्ने पोशाक यहीँबाट उत्पादन गर्न सकिन्छ ।
शिवम सिमेन्टको प्रदूषण र बकैयामा फास्ट ट्रयाकको चुनपानीले उर्भर जमिन नष्ट गरेको विषयमा दलहरू किन मौन छन् ?
विकासका नाममा जनताको उठीबास लाउने वा बदमासी गर्नेलाई यो सरकारले कुनै छुट दिँदैन । शिवम सिमेन्टले धुलो नउठेको दिनको मात्र रिपोर्ट मन्त्रालयमा बुझाउने गरेको कुरा आएको छ । संविधानले दिएको स्वच्छ वातावरणको हक कुण्ठित गर्ने जोकोहीविरुद्ध सरकार निर्मम हुन्छ । पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याएर जेल हाल्न सक्ने सरकार भएकाले गलत गर्ने जोसुकै भए पनि कानुनी कारबाही हुन्छ । बकैयाका किसान नारायण घिमिरेले फास्ट ट्र्याकको चुनपानीले जमिन बिगारेको विषय उठाएजस्तै जनताका साना–साना समस्यामा पनि हामी समन्वय गरेर समाधान खोजिरहेका छौँ ।
अन्तमा, पश्चिम मकवानपुरको विकास र सुकुम्बासी समस्या समाधानमा के योजना छ ?
मनहरी पश्चिम मकवानपुरको सम्भावना बोकेको सहर हो, जसलाई धादिङको आदमघाट र पालुङ–थानकोट जोड्ने यातायातको नयाँ हब बनाउन सकिन्छ । जहाँसम्म सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छ, हाम्रो पार्टीले पाँच वर्षपछि फेरि यही एजेन्डा लिएर भोट माग्न नआउने गरी यही कार्यकालमा समाधान गर्छ । विगतमा जस्तो राजनीतिक कार्यकर्ता भर्ती गरेर आफ्नो मान्छेलाई बाँड्ने परिपाटी अन्त्य गरी प्रशासनमार्फत निष्पक्ष रूपमा काम अघि बढेको छ । हाम्रो सरकारले पहिलो वर्ष सुशासनको जग बसाउन र बदमासी गर्नेलाई तह लगाउन केन्द्रित गरेको छ, दोस्रो वर्षबाट विकास निर्माण र आर्थिक समृद्धिमा तीव्र गतिमा काम हुनेछ । संघ, प्रदेश र स्थानीय तह मिलेर अघि बढेमा मकवानपुरको मुहार फेर्न सकिन्छ ।




