मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बर्तौलाले राक्सिराङ गाउँपालिकाको दीर्घकालीन रूपान्तरणका लागि लागुऔषधको विकल्पमा शिक्षा, चेतना र विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दैराक्सिराङ गाउँपालिका वडा नम्बर ७ अन्तर्गत जुरेथुम र घैयाबारीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राक्सिराङ्गको समग्र विकासको आधार शिक्षा र जनचेतनाबाट नै सुरु हुनुपर्ने धारणा राखेका हुन्।
उम्मेदवार बर्तौलाले आफू संसदमा पुगेपछि सधैं जनमुखी कानुन निर्माणमा केन्द्रित रहँदै आएको र आगामी दिनमा पनि जनताको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरे। उनले अघिल्लो कार्यकालमा समेत जनपक्षीय आवाज बुलन्द रूपमा उठाएको उल्लेख गर्दै आगामी कार्यकालमा सडक, पुल र खानेपानीजस्ता आधारभूत पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। उनका अनुसार दुर्गम र पछाडि पारिएका बस्तीहरूलाई राष्ट्रिय विकासको मूलधारमा जोड्न पूर्वाधार विस्तार अपरिहार्य छ।
उनले चितवनको भण्डारादेखि राक्सिराङको सिलिङ्गे हुँदै धादिङ जोड्ने चेपाङ मार्गलाई पूर्णता दिन विशेष पहल गर्ने प्रतिबद्धता जनाए। यसैगरी ग्याक्पती र सिलिङ्गे खानेपानी आयोजनालाई छिटो सम्पन्न गराएर स्थानीय नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने आफ्नो योजना रहेको बताए। यी आयोजनाले राक्सिराङ्गको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
राक्सिराङमा व्याप्त गरिबीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै बर्तौलाले बिहान–बेलुकाको हातमुख जोर्न बाध्य भएर भारी बोक्ने क्रममा कानुनी फन्दामा परेर कारागार जीवन बिताइरहेका स्थानीय नागरिकप्रति राज्य संवेदनशील हुनुपर्ने माग गरे। उनले गरिबीका कारण अपराधको आरोप खेप्न बाध्य भएका नागरिकलाई यथोचित कानुनी प्रक्रिया अपनाएर रिहा गरिनुपर्ने धारणा राखे। उनका अनुसार यहाँका धेरै नागरिक बाध्यताका कारण जेल जीवन बिताइरहेका छन्, जुन गरिबी र अवसरको अभावको प्रत्यक्ष परिणाम हो।
अब राक्सिराङमा लागुऔषधको खेती होइन, शिक्षा र चेतनाको खेती गर्नुपर्नेमा उनले जोड दिए। शिक्षा, सीप र सचेतनाबाट मात्रै पुस्तौँदेखि जरा गाडेको गरिबी, अशिक्षा र पछौटेपनको अन्त्य सम्भव हुने उनको भनाइ थियो। यसका साथै उनले राक्सिराङ्गका लंका र भिम्बुङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरे। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र स्थानीय पहिचानलाई प्रवर्द्धन गरेर पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने उनको लक्ष्य रहेको बताए।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा एमालेका नेता राजाराम स्याङतानले जात र धर्मका नाममा समाज विभाजन गर्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। उनले सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहनुपर्नेमा जोड दिए। यस्तै नेकपा एमालेका नेता गोविन्दराम चेपाङले चेपाङ भाषामै सम्बोधन गर्दै एमालेले यस क्षेत्रको विद्युतीकरण, स्वास्थ्य सेवा र शिक्षामा उल्लेखनीय काम गरेको दाबी गरे।
पछिल्लो समय प्रतिनिधिसभा सदस्य उम्मेदवार बर्तौला मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न गाउँ–टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमा व्यस्त रहेका छन्। उनले घरदैलो तथा जनतासँगको अन्तरक्रियामार्फत स्थानीय समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्दै समाधानका स्पष्ट योजना सार्वजनिक गर्दै अघि बढिरहेका छन्।









