जन्मथलोमा राप्रपा उम्मेदवार थोकरलाई स्वागत र अग्रिम बधाई

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका रामबहादुर थोकर मंगलबार आफ्नै जन्मस्थान पुगे । कैलाश गाउँपालिकाको नामटार मर्‍याङकोट जहाँ उनको जन्म भएको थियो, आफू उम्मेदवार बनेपछि उनी आफ्ना मतदातासँग प्रत्यक्ष संवादका लागि त्यहाँ पुगेका थिए । उनको जीवन र राजनीतिक चेतनाको यात्रा सुरु भएको स्थानमा उनलाई स्थानीयले भव्य स्वागत गरे र चुनावमा जितका लागि अग्रिम बधाई पनि दिए ।

जन्मथलोको माटो टेक्नेबित्तिकै थोकर स्थानीय मतदातासँग घुलमिल भए । टोलटोलमा पुगे, पुराना चिनजानसँग भलाकुसारी गरे र नयाँ पुस्तासँग पनि खुलेर संवाद गरे । यही क्षेत्र आफ्नो जन्मस्थान भएकाले यहाँका मतदाताले आफूलाई मत दिएर संसदसम्म पठाउने अपेक्षा उनले राखे । चुनाव जितेमा आफ्नो जन्मभूमिको समग्र विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले स्थानीयसमक्ष व्यक्त गरे ।

उम्मेदवारी दर्ता गरेयता थोकर सशक्त र तीव्र चुनावी अभियानमा सक्रिय छन् । औपचारिक कार्यक्रमभन्दा पनि प्रत्यक्ष भेटघाट, आमनेसामने संवाद र नागरिकको कुरा सुन्ने अभियानलाई उनले मुख्य रणनीति बनाएका छन् । गाउँबस्ती, टोल र सार्वजनिक स्थलमा पुगेर मतदातासँग संवाद गर्ने क्रममा उनले आफ्ना राजनीतिक विचार, अडान र प्रतिबद्धता स्पष्ट पार्दै विश्वास जित्ने प्रयास गरिरहेका छन् ।
स्थानीयसँगको संवादमा थोकरले हिन्दु धर्मको संरक्षणलाई आफ्नो प्रमुख दायित्वका रूपमा प्रस्तुत गरे । राप्रपा ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ भन्ने सन्देशसहित यो निर्वाचनमा होमिएको उल्लेख गर्दै उनले मन्दिर परिसरमै राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राप्रपालाई मत दिन आग्रह गरे । राष्ट्रियताको जगेर्ना र दीर्घकालीन संरक्षणका लागि आफ्नो पार्टीलाई साथ दिनु आवश्यक रहेको तर्क गर्दै उनले मतदातासँग भावनात्मक अपिलसमेत गरे ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका थोकरका लागि यो चुनाव केवल प्रतिस्पर्धा मात्र होइन, आफ्नै राजनीतिक यात्राको निरन्तरता पनि हो । उतारचढावले भरिएको राजनीतिक जीवनबाट आर्जित अनुभवका आधारमा उनी आफूलाई जिम्मेवार, परिपक्व र जनउत्तरदायी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन । जन्मथलोमै उभिएर मतदातासँग कुराकानी गर्दै थोकरले भने, ‘यहीँ ठाउँमा जन्भिएको मैले संसदमा पुगेर यस ठाउँको हितका लागि सशक्त आवाज उठाउनेछु ।’

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.