मकवानपुर । मकवानपुरको हेटौँडामा सञ्चालन भइरहेको खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिताको उपाधि बिरु गुरुङ र चेतन बिकको जोडीले जितेको छ।
जिल्लाभरका खेलाडीहरूको सहभागितासहित प्रतिस्पर्धात्मक रूपमा सम्पन्न प्रतियोगितामा २८ टोली सहभागी भएका थिए। तीमध्ये २७ टोलीलाई पछि पार्दै बिरु र चेतनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएका हुन्।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा सहभागी टोलीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो। खेल अवधिभर खेलाडीहरूले उत्कृष्ट खेल कौशल, समन्वय र रणनीतिक क्षमता प्रदर्शन गरेका थिए। अन्तिम चरणसम्म आइपुग्दा बिरु गुरुङ र चेतन बिकको जोडीले स्थिर प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीहरूलाई पराजित गर्दै उपाधि हात पारेका हुन्।
प्रतियोगितामा महेश बोहरा र राम थापा मगरको टोलीले उपविजेता स्थान हासिल गरेको छ। उनीहरूले पनि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए। त्यस्तै अजय बजगाइ र डा. नितिन थापाको टोली तथा भक्तराज जोशी र सुमन अर्यालको टोलीले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा विजेता, उपविजेता र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने बिरु गुरुङ र चेतन बिकको जोडीले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेता महेश बोहरा र राम थापा मगरको टोलीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने अजय बजगाइ–डा.नितिन थापा तथा भक्तराज जोशी–सुमन अर्यालको टोलीले समान ५-५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
खेलकुद क्षेत्रको विकास, खेल प्रतिभाको पहिचान तथा स्थानीय स्तरमा खेल गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यसहित हेटौंडाको टिसिएन चौरमा यही फागुन २९ गतेदेखि खेलकुद, कृषि तथा पर्यटन महोत्सव सुरु गरिएको हो। महोत्सव अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। महोत्सवमा खेलकुद गतिविधिलाई विशेष प्राथमिकता दिँदै विभिन्न ६ वटा विधामा प्रतियोगिता सञ्चालन गरिएको आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
समितिका अध्यक्ष राजकुमार मोक्तानका अनुसार महोत्सव अन्तर्गत केही प्रतियोगिताहरू सम्पन्न भइसकेका छन् भने केही प्रतियोगिता क्रमशः सञ्चालन हुनेछन्। जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगितासँगै जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भइसकेको छ।
महोत्सव अन्तर्गत आगामी कार्यक्रमअनुसार चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिनेछ। त्यसपछि चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। यसैगरी चैत्र ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने कार्यक्रम रहेको अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।
विशेषगरी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई महोत्सवको आकर्षक प्रतियोगितामध्ये एकका रूपमा लिइएको छ। उक्त प्रतियोगितामा विजेता टोलीलाई नगद ३ लाख रुपैयाँ प्रदान गरिनेछ भने उपविजेता टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ। सेमिफाइनलसम्म पुग्ने दुई टोलीलाई समान ५०–५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिने अध्यक्ष मोक्तानले बताएका छन्।
त्यसैगरी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा पनि आकर्षक पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ। सेमिफाइनलसम्म पुग्ने टोलीलाई समान १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिएका छन्।
महोत्सवले खेलकुद मात्र नभई कृषि र पर्यटन क्षेत्रलाई समेत प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। विभिन्न खेलकुद गतिविधिसँगै महोत्सवले स्थानीय प्रतिभा, उत्पादन तथा पर्यटन सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ। जिल्लामा खेलकुद गतिविधिलाई निरन्तरता दिन र नयाँ प्रतिभा उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको छ ।








