मकवानपुर । कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (सिआइटी) ले प्राविधिक तथा सूचना प्रविधिसम्बन्धी अध्ययनका लागि ३०८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
आर्थिक रूपमा विपन्न तथा अध्ययनमा रुचि भएका विद्यार्थीलाई सूचना प्रविधिको क्षेत्रमा पहुँच र अवसर उपलब्ध गराउने उद्देश्यले सिआइटीले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत उनीहरू छनोट भएका हुन्।
सिआइटीका अनुसार छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले एक वर्षे एडभान्स डिप्लोमा इन कम्प्युटरसम्बन्धी अध्ययन तथा तालिममा सहभागी हुने अवसर पाउनेछन्। कार्यक्रममा कम्प्युटरको आधारभूत ज्ञानसँगै व्यावहारिक तथा प्राविधिक सीपसमेत प्रदान गरिनेछ।
विद्यार्थीको आर्थिक अवस्था र शैक्षिक क्षमतालाई ध्यानमा राख्दै सिआइटीले हरेक वर्ष छात्रवृत्तिका लागि परीक्षा सञ्चालन गर्दै आएको छ। न्यूनतम शुल्कमा आवेदन दिन सकिने व्यवस्था गर्दै उत्कृष्ट नतिजा ल्याउने गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरिएको सिआइटीका प्रबन्ध निर्देशक दिनेश रिजालले बताए।
यस वर्षको परीक्षामा कलैया–६, बाराका सचिन यादवले शतप्रतिशत नतिजा हासिल गर्दै पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने अर्का विद्यार्थी अशोक पालले ८४ प्रतिशत छात्रवृत्ति पाएका छन्। सिआइटीले परीक्षामा विद्यार्थीको प्रदर्शनका आधारमा छात्रवृत्तिको प्रतिशत निर्धारण गर्ने जनाएको छ।
प्रबन्ध निर्देशक रिजालका अनुसार सिआइटीले सञ्चालन गर्दै आएको छात्रवृत्ति अभियानबाट हालसम्म १० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। आर्थिक अभावका कारण सूचना प्रविधिको शिक्षा हासिल गर्नबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई लक्षित गरी कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए।
‘विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावहारिक र रोजगारमुखी सीप प्रदान गर्नु छात्रवृत्ति कार्यक्रमको मुख्य उद्देश्य हो,’ रिजालले भने।
करिब १८ वर्षदेखि सञ्चालनमा रहेको सिआइटीले सूचना प्रविधिसम्बन्धी शिक्षा र सीपलाई रोजगारीसँग जोड्ने उद्देश्यले विभिन्न शैक्षिक तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाका अनुसार सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेका बेला विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने प्रयास गरिएको हो।
छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययनका क्रममा कम्प्युटर सञ्चालन, सूचना प्रविधिका आधारभूत विषय तथा व्यावहारिक सीपसँग सम्बन्धित प्रशिक्षण लिनेछन्। यसबाट विद्यार्थीलाई अध्ययनसँगै प्राविधिक दक्षता हासिल गर्न सहयोग पुग्ने सिआइटीको दाबी छ।
सिआइटीले छात्रवृत्तिका लागि विद्यार्थी छनोट तथा मूल्यांकन गर्न परीक्षा सञ्चालन गरेको थियो। संस्थाले उक्त परीक्षाका आधारमा विद्यार्थी छनोट गरी छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको जनाएको छ।







