खेतबारीमा कृषकसँग नगर प्रमुख मीनाको संवाद

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामा मंगलबार आफ्ना पालिकाबासी कृषकहरूसँग प्रत्यक्ष संवादमा थिइन् । कागजी योजनाभन्दा बाहिर निस्केर खेतकै माटोको गन्धसँग उनी संवादमा जोडिएकी थिइन् ।

प्रमुख लामाले वडा नम्बर १६, १७ र १८ का महिला तथा पुरुष कृषक भेटघाट गर्दै रैथाने कृषि उत्पादनका विषयमा छलफल गरिन् । प्रमुख लामाको यो औपचारिक कार्यक्रम थिएन, यो त कृषकका अनुभव, चुनौती र सम्भावनालाई प्रत्यक्ष सुन्ने प्रयास थियो ।

ती वडाहरूमा अहिले आधुनिक कृषि व्यवसाय विस्तार हुँदै गएको छ, जसको आधार नगरपालिकाले उपलब्ध गराएको आर्थिक सहयोग हो । यही सहयोगले परम्परागत खेतीलाई क्रमशः व्यावसायिक रूप दिँदै लैजाने आधार तयार पारेको छ । स्थानीय कृषकहरूले उत्पादनमा विविधता ल्याउने, रैथाने बाली संरक्षण गर्ने र बजारमुखी सोच विकास गर्ने दिशामा काम गरिरहेका छन् ।

कृषकहरूसँगको छलफलका क्रममा देखिएको उत्साहले नगर प्रमुख लामालाई पनि उत्साहित बनायो । उनले सोही अनुभवलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै कृषकहरूको ऊर्जा र प्रतिबद्धताप्रति खुशी व्यक्त गरिन् । ‘कृषक साथीहरूमा देखिएको उत्साहबाट निकै खुसी लाग्यो ।’ उनले लेखिन् । यो अभिव्यक्तिले मात्र होइन, उनको प्रत्यक्ष उपस्थितिले पनि स्थानीय तह नेतृत्व र कृषकबीचको सम्बन्धलाई थप नजिक बनाएको बुझिन्छ ।

उप महानगरपालिकाको सहयोग र नेतृत्वको सक्रियताले कृषिमा नयाँ सम्भावनाहरू खुलिरहेका छन् । यसबाट जीविकोपार्जनको साधन मात्र होइन कि आर्थिक आम्दानी लिन पनि कृषक सफल भइरहेका छन् । पालिकाले सहयोगले परम्परागत ज्ञान र आधुनिक प्रविधिको संयोजनले कृषकहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गरिरहेको छ ।

कार्यालयभित्र सीमित नभई किसानका खेतबारीमा पुगी किसान र समुदायसँग प्रत्यक्ष संवादमा जोडिने कार्यलाई प्रशंसा गरिएको छ । ‘जब स्थानीय सरकार कृषिसँग जोडिन्छ, तब विकास केवल योजनामा होइन, जीवनमा पनि देखिने विश्लेषण गरिन्छ । ’ एक अगुवा कृषकले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.