मकवानपुर । केही वर्षअघिसम्म अधिकांश घरका कौसीहरू कपडा सुकाउने ठाउँका रूपमा मात्रै चिनिन्थे । तर अहिले त्यही कौसीमा टमाटर, काउली, धनियाँ, खुर्सानी र कागतीका बिरुवाहरू हुर्किन थालेका छन् । बढ्दो सहरीकरण, साँघुरिँदै गएको खेतीयोग्य जमिन र विषादीयुक्त खाद्य वस्तुप्रतिको चिन्ताका बीच कौसी खेती धेरै परिवारका लागि विकल्प मात्र होइन, आवश्यकता बन्दै गएको छ ।
यही आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै हेटौँडा उपमहानगरपालिका–१० वडा समितिको कार्यालय र तरंग सांस्कृतिक परिषद्को सहकार्यमा हेटौँडामा कौसी खेती तथा उद्यमशीलता तालिम सञ्चालन गरिएको छ । वडाभित्रका विभिन्न टोल विकास संस्थाका ३१ जना महिला तथा पुरुष सदस्य सहभागी तालिमले सहरी जीवनशैली र कृषि उत्पादनबीचको सम्बन्धलाई नयाँ ढंगले पुनस्थार्पित गर्ने प्रयास गरेको छ ।
तालिम समापनमा वडा अध्यक्ष फुर्वा दोर्जे तामाङले अहिले विश्वले भोगिरहेको जलवायु परिवर्तनको चुनौती, बढ्दो सहरी जनघनत्व, रोजगारीको अभाव र खाद्य सुरक्षासम्बन्धी समस्याको समाधान खोज्ने क्रममा कौसी खेती प्रभावकारी माध्यम बन्न सक्ने बताए ।‘सहरमा खाली जमिन दिनप्रतिदिन घट्दै गइरहेको छ ।’ उनले भने, ‘तर घरको छाना, बरन्डा वा सानो खुला ठाउँलाई व्यवस्थित रूपमा उपयोग गर्न सकियो भने परिवारको पोषणमा महत्वपूर्ण योगदान पुग्छ । यसले विषादीयुक्त तरकारीप्रतिको निर्भरता घटाउनुका साथै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न मद्दत गर्छ ।’ उनका अनुसार जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा देखिएको अनिश्चितताले खाद्य सुरक्षामाथि समेत दबाब सिर्जना गरिरहेको छ । यस्तो अवस्थामा स्थानीयस्तरमै उत्पादन बढाउन सकिने साना-साना उपायहरूलाई प्रोत्साहन गर्नु समयको आवश्यकता भएको उनले बताए ।
हेटौँडाजस्ता तीव्र गतिमा विस्तार भइरहेका सहरमा पछिल्लो समय घर निर्माणको क्रम बढ्दो छ । यससँगै खुला जमिनको क्षेत्रफल घट्दै गएको छ । कृषि उत्पादनमा आत्मनिर्भरता कमजोर बन्दै गएका बेला कौसी खेतीले घरपरिवारलाई ताजा र सुरक्षित तरकारी उपलब्ध गराउनुका साथै अतिरिक्त आम्दानीको सम्भावना समेत सिर्जना गर्न सक्ने विज्ञहरू बताउँछन् ।
समापन समारोहका अध्यक्ष तथा तरंग सांस्कृतिक परिषद्का कोषाध्यक्ष ईन्द्रप्रसाद नेपालले तालिमको उपलब्धिबारे बोल्दै सहभागीहरूको प्रतिक्रिया र स्वमूल्यांकनले कार्यक्रम प्रभावकारी रहेको देखाएको बताए । ‘तालिम केवल सैद्धान्तिक ज्ञान दिने कार्यक्रम मात्र थिएन ।’ उनले भने, ‘सहभागीहरूले व्यवहारमा लागू गर्न सक्ने सीप सिकेका छन् । आगामी आर्थिक वर्षमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’ उनले स्थानीय सरकार र सामुदायिक संस्थाबीचको सहकार्यले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन सक्ने धारणा व्यक्त गरे । समुदायको सक्रिय सहभागिताले मात्रै वातावरण संरक्षण, खाद्य सुरक्षा र आर्थिक सशक्तीकरणका लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।
तालिमका संयोजक प्रद्युम्न उपाध्यायले कौसी खेतीलाई केवल कृषि गतिविधिका रूपमा नभई सामाजिक तथा सांस्कृतिक अभियानका रूपमा पनि लिनुपर्ने धारणा राखे । उनका अनुसार आधुनिक प्रविधिको बढ्दो प्रयोगले मानिसहरूलाई प्रकृतिबाट टाढा बनाइरहेको छ । ‘आजका बालबालिका मोबाइल र डिजिटल उपकरणमा बढी केन्द्रित भइरहेका छन् ।’ उनले भने, ‘कौसी खेतीले परिवारका सदस्यलाई एकै ठाउँमा ल्याउँछ । बिरुवा रोप्ने, हुर्काउने र फल लाग्दा खुसी साट्ने प्रक्रियाले सामाजिक सम्बन्धलाई बलियो बनाउनुका साथै प्रकृतिप्रतिको प्रेम पनि बढाउँछ ।’ उनले सहभागीहरूसँगको अन्तरक्रियामा कौसी खेतीले मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताए । हरियालीसँग बिताइएको समयले तनाव कम गर्न र सकारात्मक सोच विकास गर्न मद्दत पुग्ने विभिन्न अध्ययनहरूले देखाएको सन्दर्भ उनले प्रस्तुत गरेका थिए ।
तालिमकी सहजकर्ता राधा कोइरालाले सहभागीहरूलाई कौसी खेतीका प्राविधिक पक्षबारे विस्तृत जानकारी दिएकी थिइन् । उनले कौसीमा उत्पादन गर्न सकिने तरकारी तथा फलफूलका उपयुक्त प्रजाति, मौसमअनुसारको खेती प्रणाली, जैविक मलको प्रयोग, बिउ छनोट, ग्राफ्टिङ प्रविधि तथा जैविक किटनाशक निर्माणका उपायबारे सहजीकरण गरिन् । उनका अनुसार सीमित स्थानमा पनि उचित व्यवस्थापन गर्न सके पर्याप्त उत्पादन लिन सकिन्छ । विशेषगरी टमाटर, भिन्डी, धनियाँ, खुर्सानी, कागती, स्ट्रबेरीलगायतका बाली कौसी खेतीका लागि उपयुक्त मानिन्छन् ।
तालिम समापनमा वडा अध्यक्ष तामाङ, वडा सदस्य ईश्वर मैनाली तथा परिषद्का कोषाध्यक्ष नेपालले सहभागीहरूलाई बिउ, मल तथा गमला हस्तान्तरण गरे । सहभागीहरूले सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न आवश्यक प्रारम्भिक सामग्री उपलब्ध गराइनु कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष मानिएको छ ।
कार्यक्रममा वक्ताहरूले कौसी खेतीलाई केवल घरायसी उत्पादनमा सीमित नराखी उद्यमशीलतासँग जोड्न सकिने सम्भावनाबारे पनि चर्चा गरे । विशेष गरी जैविक तरकारी उत्पादन, बिरुवा उत्पादन तथा बिउ व्यवस्थापनमार्फत साना स्तरको उद्यम सञ्चालन गर्न सकिने धारणा राखिएको थियो ।
उद्यमशीलताको सम्भावनाबारे सहजीकरण गरेका केदार राना मगरले सहरी क्षेत्रमा जैविक उत्पादनको माग निरन्तर बढिरहेको उल्लेख गर्दै व्यवस्थित योजना र बजार व्यवस्थापन गर्न सके कौसी खेती आम्दानीको स्रोत बन्न सक्ने बताए ।
तालिममा सहभागीहरूले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजकले तालिमपछि कौसी खेतीको वास्तविक अवस्था, उत्पादन र प्रभावको मूल्यांकन गर्न वडा कार्यालय र परिषद्को संयुक्त अनुगमन गरिने पनि जानकारी दिए ।
सहर विस्तारसँगै हराउँदै गएको हरियालीलाई पुनः घर–घरमा फर्काउने प्रयासका रूपमा हेरिएको यो कार्यक्रमले कृषि, वातावरण, स्वास्थ्य र उद्यमशीलतालाई एउटै सूत्रमा बाँध्ने प्रयास गरेको देखिन्छ । जलवायु परिवर्तन र खाद्य सुरक्षाका चुनौतीबीच सानो कौसीमा रोपिएको एउटा बिरुवाले ठूलो परिवर्तनको सम्भावना बोकेको एक सहभागीले प्रतिकृया दिए । सहभागीहरु तालिम अन्त्यसँगै केवल प्रमाणपत्र मात्र लिएर फर्किएनन्, उनीहरू आफ्नै घरको कौसीलाई हरियाली,स्वास्थ्य र सम्भावित आयको स्रोत बनाउने सपना बोकेर घर फर्किए ।







