मकवानपुर । हेटौँडाको व्यस्त सहरबीच फैलिएको एउटा खुला मैदान- लोकतान्त्रिक चौर। बिहानको घामसँगै यहाँ आउने बालबालिकाको हाँसो, युवाहरूको खेलप्रतिको उत्साह र साँझपख घुम्न आउने जेष्ठ नागरिकको शान्त उपस्थिति, सबै मिलेर यसलाई सहरको मुटु बनाइरहेका छन्। अब यही चौरलाई अझ आधुनिक, आकर्षक र सबैका लागि सहज बनाउने तयारी तीव्र गतिमा अघि बढेको छ।
बाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका-४ मा रहेको यो चौरलाई करिब ३ करोड रुपैयाँको बजेट व्यवस्थापन गरेर प्रदेशकै नमुना खुला चौरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले चौरको रूपान्तरणलाई केवल भौतिक विकासका रूपमा होइन, सहरको जीवनशैलीसँग जोडिएको दीर्घकालीन परियोजनाका रूपमा अगाडि बढाइएको बताइन् । उनका अनुसार ‘महिला मैत्री सहर निर्माण’ परियोजना अन्तर्गत तयार पारिएको चौरको मास्टर प्लान अन्तिम चरणमा पुगेको छ । र, योजना स्वीकृत भएसँगै निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ। यस परियोजनामा सोही कार्यक्रमसँगै अन्य स्रोतबाट समेत बजेट व्यवस्थापन गरिने उनले बताइन्।
यो चौरलाई अब केवल खाली मैदानका रूपमा मात्र नभई बहुउद्देश्यीय सार्वजनिक स्थलका रूपमा रूपान्तरण गरिँदैछ। वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलका अनुसार यहाँ फुटबल, भलिबल र क्रिकेटका खेल मैदानलाई थप व्यवस्थित बनाइनेछ भने खुला जिमलाई मर्मत गरी थप उपकरणसहित विस्तार गरिनेछ। बालबालिकाका लागि सुरक्षित खेल क्षेत्र, जेष्ठ नागरिकका लागि छुट्टै विश्राम स्थल र सर्वसाधारणका लागि बस्ने तथा आराम गर्ने ठाउँहरू निर्माण गरिने योजना छ। चौरको प्रवेशद्वार र मञ्चलाई पनि अझ आकर्षक र सुविधाजनक बनाइने तयारी गरिएको छ।
यसअघि नै चौरमा सार्वजनिक शौचालय, हिँड्ने ट्र्याक र भलिबल कोर्ट निर्माण भइसकेका छन् भने क्रिकेट खेलका लागि ‘क्रिकेट केज’ निर्माण कार्य जारी छ। वडा कार्यालयको व्यवस्थापनमा नियमित सरसफाइ र मर्मत हुँदै आएको यस चौरमा हालै चार वटा हाईमास्ट बत्ती जडान गरिएका छन्, जसले रातको समयमा पनि चौरलाई उज्यालो र सुरक्षित बनाएको छ।
सिग्देलले चौरलाई महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र खेलप्रेमी सबैका लागि मैत्रीपूर्ण बनाउने उद्देश्यले विशेष ध्यान दिइएको बताए। उनका अनुसार यो चौर अब केवल खेल्ने वा घुम्ने ठाउँ मात्र होइन, समावेशी र जीवन्त सार्वजनिक स्थलका रूपमा विकसित हुनेछ- जहाँ प्रत्येक नागरिकले आफ्नोपन महसुस गर्न सक्नेछ।








