श्रमसंस्कृति पार्टीले बनाइदियो चेपाङ परिवारको घर

मकवानपुर । राक्सिराङ-३ लावतीकी निशा माया चेपाङको परिवारका लागि गएको चैत ४ गतेको रात जीवनकै सबैभन्दा पीडादायी क्षण बन्यो । आगलागीले उनको सानो घर पूर्णरूपमा जलेर नष्ट भयो । एकैछिनमा बस्ने बास मात्रै होइन, परिवारको आधार नै खरानी भयो । करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएपछि गरिब तथा विपन्न निशा, उनका श्रीमान रमेश कार्की र छोरा जोशेप कार्की खुला आकाशमुनि बस्न बाध्य भए ।
तर, यही विपत्तिको बीचमा एउटा उदाहरणीय सहकार्यले उनीहरूको जीवनमा फेरि आशाको उज्यालो ल्याइदियो ।
श्रम संस्कृति पार्टी जिल्ला कमिटी मकवानपुरले पीडित परिवारको दुःखलाई आफ्नै पीडा ठानेर एक महिनाभित्र नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । शुक्रबार पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तानसहितको टोली हेटौँडाबाट राक्सिराङ पुगेर विशेष समारोहका बीच निशाको परिवारलाई नयाँ घर हस्तान्तरण गर्‍यो ।
घरको चाबी हस्तान्तरण कार्यक्रम राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष युनेशको अध्यक्षतामा भएको थियो ।
पार्टीका प्रतिनिधिहरूले आगलागीबाट घर नष्ट भएको खबर पाउनासाथ राहत अभियान थालेका थिए । सुरुमा १२ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा कपडा सहयोग गरिएको थियो । त्यसपछि आर्थिक सहयोग संकलन र कार्यकर्ताहरूको श्रमदानबाट करिब १० धुर एलानी जग्गामध्ये साँढे ३ धुर क्षेत्रफलमा एकतले दुईकोठे घर निर्माण गरियो ।
जिल्ला अध्यक्ष युनेशका अनुसार घर निर्माणका लागि करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको थियो । तर, पार्टी कार्यकर्ताको श्रमदान तथा विभिन्न व्यक्ति र कम्पनीको सहयोगले २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गर्न सम्भव भयो ।
घर निर्माणका लागि सुब्बा फर्निचर उद्योग र भट्ट मोबाइल पसल बाट पाँच–पाँच बोरा तथा गोपी ग्लास एण्ड फर्निचरबाट तीन बोरा सिमेन्ट सहयोग प्राप्त भयो । त्यस्तै बाबुलाल स्याङ्तानले एक टिप ग्राभेल र एक टिप बालुवाको ढुवानी सहयोग गरे भने मनहरी ग्रिल उद्योगले ढोका निर्माणमा २ हजार रुपैयाँ छुट दिएको थियो ।
घर हस्तान्तरणपछि गाउँपालिका अध्यक्ष मल्लले श्रम संस्कृति पार्टीले पीडित परिवारको पीडा बुझेर सामाजिक उत्तरदायित्वको नमूना प्रस्तुत गरेको भन्दै खुशी व्यक्त गरे । उनले आगलागीबाट एक महिनाअघि घर गुमाएको परिवारलाई श्रमदानबाट घर निर्माण गरी दिएको कार्य प्रशंसनीय रहेको बताए ।
मल्लले नयाँ घर बने पनि व्यवस्थित शौचालयको अभाव रहेको उल्लेख गर्दै गाउँपालिकाबाट प्यान, टायल लगायतका सामग्री उपलब्ध गराई शौचालय निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नागरिकता अभावका कारण निशा विभिन्न सरकारी सेवा–सुविधाबाट बञ्चित रहेको उल्लेख गर्दै वडाको सिफारिसमार्फत नागरिकता बनाउन पहल गर्ने आश्वासन दिए । अहिलेको समयमा नागरिकता र राष्ट्रिय परिचयपत्र बिना सरकारी सेवा लिन कठिन हुने भएकाले यसतर्फ तत्काल ध्यान दिने उनले बताए ।
श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तानले पार्टी जिल्ला कमिटीको नेतृत्वमा श्रमदान र आर्थिक सहयोग संकलनमार्फत आगलागीबाट घर गुमाएको परिवारलाई एक महिनामै नयाँ घर हस्तान्तरण गर्न सफल भएको बताइन् । उनका अनुसार घर निर्माणका लागि विभिन्न व्यक्तित्वबाट आर्थिक सहयोग जुटाइएको थियो भने गाउँपालिकाले जस्ता समेत उपलब्ध गराएको थियो ।
मोक्तानले दुःखमा परेका जनताको गुनासो सुनेर उनीहरूको आवाजलाई सदनसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन् । श्रमदानमार्फत पीडामा परेका नागरिकका लागि घर निर्माणजस्ता काममा पार्टी कहिल्यै पछि नपर्ने बताउँदै उनले चुनाव जितेपछि आफूहरू जनताकै साझा प्रतिनिधि भएको स्पष्ट पारिन् ।
घर हस्तान्तरण कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उत्तम लामा, श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामा, युवा नेता निश्चल थिङ, पूर्व वडाध्यक्ष बाबुलाल थिङ लगायतको उपस्थिति रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.