मकवानपुर । अदुवाको बास्ना, दालमा मिसिने बेसारको पहेँलो रङ, अचारको स्वाद बढाउने लसुन र आँगनको कुनामा उम्रिएको तुलसी । यी सबै नेपाली घरका परिचित दृश्य हुन् । तर यिनै सामान्य लाग्ने सामग्रीहरू स्वास्थ्यका लागि अमूल्य औषधि पनि हुन सक्छन् भन्ने सन्देश लिएर विश्व वातावरण दिवस २०८३ को अवसरमा हेटौँडामा एक फरक प्रकारको सचेतनामूलक कार्यक्रम आयोजना गरियो ।
हेटौँडामा आयोजित ‘भान्सा नै औषधालय’ कार्यक्रमले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्यो । वृक्षारोपण, सरसफाइ र हरियालीको चर्चा हुने वातावरण दिवसमा यसपटक नागरिकको भान्सालाई नै स्वास्थ्य र वातावरणको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने प्रयास गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडा उपमहानगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा चार सयभन्दा बढी नागरिक, टोल विकास संस्थाका प्रतिनिधि, महिला समूहका सदस्य तथा सामाजिक अभियन्ताहरूको सहभागिता थियो । कार्यक्रमले एउटा महत्वपूर्ण प्रश्न उठायो–स्वास्थ्यका लागि हामी अस्पतालतर्फ बढी केन्द्रित भइरहेका छौँ कि आफ्नै भान्साको शक्ति बिर्सिरहेका छौँ ?
कार्यक्रमका मुख्य प्रशिक्षक तथा ‘भान्सा नै औषधालय’ अभियानका प्रवद्र्धक रोमलाल गिरीले आधुनिक जीवनशैलीले मानव स्वास्थ्यमा ल्याएको चुनौतीबारे विस्तृत चर्चा गरे । उनका अनुसार आजको समाजमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनजस्ता नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन् । यसको प्रमुख कारण बदलिँदो खानपान, शारीरिक श्रमको कमी र प्रकृतिसँगको दूरी हो । ‘हामी बिरामी भएपछि औषधि खोज्दै अस्पताल पुग्छौँ ।’ उनले भने, ‘तर धेरै रोगबाट बच्ने आधार भने हाम्रो आफ्नै भान्सामा लुकेको हुन्छ । बेसार, अदुवा, लसुन, तुलसी, मेथी जस्ता सामग्री केवल स्वादका लागि प्रयोग गरिने मसला मात्र होइनन्, यी शरीरलाई रोगसँग लड्न सहयोग गर्ने प्राकृतिक सम्पत्ति हुन् ।’ उनले पछिल्ला वर्षहरूमा प्याकेटबन्द तथा अत्यधिक प्रशोधित खाद्य पदार्थको प्रयोग बढ्दै गएको उल्लेख गर्दै यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको बताए । स्थानीय अन्न, मौसमी फलफूल, ताजा सागसब्जी र परम्परागत खानालाई छाडेर आयातित तथा कृत्रिम खाद्य सामग्रीतर्फको आकर्षण बढ्नु चिन्ताको विषय भएको उनको भनाइ थियो । ‘पहिले हाम्रा गाउँघरमा पाइने परिकारहरू नै स्वास्थ्यका आधार थिए ।’ उनले भने, ‘तर अहिले हामी सजिलो र आकर्षक देखिने खानाको पछि लागिरहेका छौँ । यसको असर भविष्यमा अझ गम्भीर रूपमा देखिन सक्छ ।’
प्रमुख अतिथि तथा हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलले वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा गाँसिएको विषय भएको बताए । उनका अनुसार हरियाली, सरसफाइ, स्वच्छ वातावरण र स्वस्थ खानपानबीच गहिरो सम्बन्ध छ । ‘स्वस्थ वातावरणबिना स्वस्थ नागरिकको कल्पना गर्न सकिँदैन ।’ उनले भने, ‘हरियाली, सरसफाइ र स्वस्थ खानपान एउटै सृङ्खलाका महत्वपूर्ण कडी हुन् । स्थानीय सरकारले पूर्वाधार विकाससँगै नागरिकको स्वास्थ्य र चेतनालाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ ।’ सिग्देलले यस्ता कार्यक्रमले समुदायमा व्यवहार परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सहभागीहरूलाई कार्यक्रममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्दै स्वस्थ नागरिक निर्माण नै समृद्ध समाज निर्माणको आधार भएको बताए ।
कार्यक्रमका सभाध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रमको सीमाभित्र मात्र राख्न नहुने धारणा व्यक्त गरे । उनका अनुसार वातावरण संरक्षणको वास्तविक अर्थ नागरिकको दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनु हो । ‘स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो ।’ उनले भने, ‘वातावरण संरक्षण भन्नाले केवल रूख रोप्नु मात्र होइन, हामीले खानेकुरा, जीवनशैली र स्वास्थ्यप्रतिको दृष्टिकोणलाई पनि परिवर्तन गर्नु हो ।’ उनले टोल विकास संस्थाहरू समुदायमा चेतना फैलाउने प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्धन र स्वस्थ जीवनशैली निर्माणमा यिनको भूमिका अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँलयाए ।
कार्यक्रममा अधिकांश सहभागीले घरमै उपलब्ध सामग्रीहरूको औषधीय महत्वबारे नयाँ जानकारी प्राप्त गरेको प्रतिक्रिया दिए । केहीले परिवारमा स्वस्थ खानपानको अभ्यास बढाउने, स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिने तथा प्रशोधित खाद्य पदार्थको प्रयोग घटाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
पछिल्ला वर्षहरूमा नेपालसहित विश्वभर नसर्ने रोगको जोखिम बढ्दै गएको छ । स्वास्थ्य विज्ञहरूले नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त आराम र प्राकृतिक जीवनशैलीलाई रोग नियन्त्रणका प्रभावकारी उपायका रूपमा औँल्याउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले समेत स्वस्थ जीवनशैलीलाई स्वास्थ्य सुरक्षाको पहिलो आधार मान्दै आएको छ । यही सन्दर्भमा हेटौँडामा आयोजित ‘भान्सा नै औषधालय’ कार्यक्रम केवल एकदिने सचेतना मात्र नभई जीवनशैली परिवर्तनको अभियानका रूपमा देखिएको छ । यसले स्वास्थ्यलाई अस्पताल र औषधिसँग मात्र होइन, दैनिक भोजन, स्थानीय उत्पादन, वातावरण र व्यक्तिगत व्यवहारसँग पनि जोडेर हेर्नुपर्ने सन्देश दिएको छ ।







