मकवानपुर । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले विगत वर्षभरि गरिएका सामाजिक, शैक्षिक र जनचेतनामूलक कार्य समेटी प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो मंगलबार सार्वजनिक गरिएको छ ।
फाउन्डेसनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल प्रमुख आतिथ्यतामा भएको समारोहमा भित्तेपात्रो सार्वजनिक गरियो ।
प्रथम मुख्यमन्त्री पौडेलले फाउन्डेसनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै रचनात्मक कार्यहरू निरन्तर अघि बढाइरहेको उल्लेख गरे । उनले यस्ता गतिविधिहरूले समाजलाई दिशानिर्देश गर्ने काम गर्ने भन्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
फाउन्डेसनले नियमित रूपमा सञ्चालन गर्दै आएका रचनात्मक कार्यक्रमहरूको पौडेलले प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरे ।
भित्तेपात्रोमा फाउन्डेसनमार्फत भएका सामाजिक पहल, शैक्षिक कार्यक्रम र जनचेतनामूलक अभियानका तस्बिरहरू समेटिएका छन् ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्यहरू गोपालबहादुर श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ र भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिका ४ का वडा अध्यक्ष नवीन सिग्देल, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।








