मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ ले शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकास गर्ने उद्देश्यले वर्षभर सञ्चालन गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित पत्रकार भेटघाटमार्फत सार्वजनिक कार्यक्रमहरूमा विद्यालय तथा नगरस्तरीय प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरणलगायत गतिविधि समेटिएका छन्।
वडाध्यक्ष नवीन सिग्देलले शिक्षा क्षेत्रमा ४० प्रतिशतभन्दा बढी बजेट लगानी गरिएको जानकारी दिँदै उक्त लगानी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको विकासमा केन्द्रित रहेको बताए। उनका अनुसार वडाभित्र १६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा मकवानपुरका साथै बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिराहा र सिन्धुलीबाट समेत विद्यार्थी आउने गरेका छन्। ‘हाम्रो प्रयासले अन्य जिल्लामा पनि सकारात्मक प्रभाव पारेको छ ।’ उनले भने।
वडाले सामुदायिक तथा संस्थागत विद्यालयबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत बैशाख १८ र १९ गते जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता आयोजना गरिनेछ, जसमा १६ टिम सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दुई सान्त्वना टिमलाई जनही ५ हजार रुपैयाँ दिइनेछ। आयोजकका अनुसार प्रतियोगिता शिक्षकहरूबीच सहकार्य र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरिँदैछ।
यसैगरी, गत फागुन २ गते करिब १२०० विद्यार्थीको सहभागितामा सम्पन्न तेस्रो खेलकुद महोत्सव अन्तर्गत बैशाख २७ गते आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा पुरस्कार वितरण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा करिब ३५० विद्यार्थीलाई सम्मान गरिनेछ। महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, हाजिरी जवाफ, निबन्ध, कविता तथा वक्तृत्वकलाजस्ता विधामा प्रतिस्पर्धा गरिएको थियो। शिक्षकतर्फ पुरुष फुटबल र महिलातर्फ ‘टग अफ वार’ प्रतियोगिता पनि समावेश गरिएको थियो। विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
उही दिन दिउँसो कक्षा ८ का उत्कृष्ट विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सम्मान गरिने कार्यक्रम पनि रहेको छ। जिपिए ४ प्राप्त गर्ने विद्यार्थीलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ भने उत्कृष्ट नतिजा दिलाउने शिक्षकलाई पनि पुरस्कृत गरिनेछ। साथै, अन्य उच्च जिपिएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
शिक्षालाई व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले जेठ १४ गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा बृहत शैक्षिक प्रदर्शनी, चित्रकला तथा नृत्य प्रतियोगिता आयोजना गरिनेछ। कार्यक्रममा करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ। शैक्षिक प्रदर्शनीअन्तर्गत विद्यार्थीहरूले विज्ञान विषयमा आधारित प्रस्तुति गर्नेछन्। प्रदर्शनीमा उत्कृष्ट हुने विद्यार्थीलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी पचास वर्षपछि हेटौँडा’ विषयक चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिनेछ। राष्ट्रिय तथा मौलिक गीतमा आधारित नृत्य प्रतियोगितामा नगरभित्रका विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन्, जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।
यी सबै कार्यक्रम सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको वडाध्यक्ष सिग्देलले बताए। उनका अनुसार यो खर्च विद्यार्थीको क्षमता, आत्मविश्वास र सिर्जनशीलतामा गरिएको दीर्घकालीन लगानी हो। वडाले शिक्षा, खेलकुद र सिर्जनात्मक क्रियाकलापलाई एकीकृत रूपमा अघि बढाउँदै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ।







