मकवानपुर । मकवानपुरको इन्द्रसरोर गाउँपालिकास्थित महालक्ष्मी खोलामा निर्माणाधीन मितेरी पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हेटौँडा-भैंसे-भीमफेदी-कुलेखानी–फाखेल–फर्पिङ हुँदै काठमाडौं जोड्ने छोटो वैकल्पिक सडकमार्गअन्तर्गत निर्माण भइरहेको पुल जेठ अन्तिम सातासम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीका अनुसार पुलको माथिल्लो भागमा ढलान तथा दुवैतर्फ पहुँचमार्ग निर्माण गर्न मात्रै बाँकी रहेको छ । ‘पुलको करिब ९० प्रतिशत काम सकिएको छ ।’ उनले भने, ‘सबै काम सम्पन्न गरेर जेठ अन्तिम सातासम्म सञ्चालनमा ल्याउने तयारी छ ।’ गत वर्षको असोज ११ र १२ गते आएको बाढीले महालक्ष्मी क्षेत्रको पुल तथा सडकमा क्षति पुर्याएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मकवानपुरले २०८१ असार ६ गते पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
१५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइ रहेको पुल निर्माणको जिम्मा ताण्डव, नारायण, सरस्वती जेभी हेटौँडा-४ ले मूल्य अभिवृद्धि कर र पिएससहित ४ करोड ६१ लाख ७७ हजार ५३० रुपियाँमा लिएको हो । पुल निर्माणको वित्तीय प्रगति ८८.३१ प्रतिशत तथा भौतिक प्रगति ९० प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।
यसैगरी, हेटौँडा-भीमफेदी–कुलेखानी–फाखेल–हुमाने भन्ज्याङ सडकखण्ड फराकिलो बनाउने तथा ग्रेडिङ मिलाउने काम सकिएको भए पनि सबै खण्डमा कालोपत्र भइसकेको छैन । महालक्ष्मी क्षेत्रमा खोलाबाट सडक जोगाउन पर्खाल निर्माण तथा नाली व्यवस्थापनको कामसमेत गरिएको छ । गत असोजको बाढीपहिरोले उक्त क्षेत्रमा करिब आधा किलोमिटर सडक बगाएको थियो । अहिले पुनर्निर्माणसँगै सडक सुरक्षाका लागि संरक्षण संरचना निर्माण गरिएको जनाइएको छ ।







