मकवानपुर । लामो समयदेखि सामाजिक सेवा, महिला सशक्तीकरण, युवा परिचालन तथा नागरिक सचेतना अभिवृद्धिका क्षेत्रमा सक्रिय रहँदै आएकी रमिला सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला विभाग सदस्यको जिम्मेवारी ग्रहण गर्दै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गरेकी छिन् ।
हाल गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष, जीएस शिशु निकेतन विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरकी महासचिव तथा प्रदेश सुशासन केन्द्र बागमती प्रदेशको विज्ञ सल्लाहकारको समेतको जिम्मेवारीमा रहेकी सापकोटाले विगत २५ वर्षदेखि निरन्तर सामाजिक सेवामा योगदान पुर्याउँदै आएकी छिन् ।
समाज रूपान्तरण, महिला सशक्तीकरण, युवा नेतृत्व विकास, संस्थागत समन्वय तथा नागरिक चेतना अभिवृद्धिमा उनले निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको छ ।
सामाजिक सेवाबाट प्राप्त अनुभवलाई अब नीति निर्माण र सुशासनमार्फत जनताको जीवनस्तर सुधारमा केन्द्रित गर्दै देश विकासका लागि पारदर्शिता, जवाफदेहिता, सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, उद्यमशीलता प्रवर्द्धन तथा युवाको क्षमता र सम्भावनाको उचित उपयोग आवश्यक रहेको धारणा सापकोटाको छ ।
सापकोटाले देशभित्रै अवसर सिर्जना गर्ने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा सक्षम नेतृत्व विकासमार्फत राष्ट्र निर्माणको अभियानमा जोडिन आग्रह गरेकी छिन् । उनले राजनीतिक विचार, सामाजिक उत्तरदायित्व र विकासप्रतिको साझा प्रतिबद्धताका आधारमा सबै पक्षबीच सहकार्य, संवाद र समन्वय आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
सामाजिक क्षेत्रबाट स्थापित नेतृत्वका रूपमा परिचित सापकोटाको राजनीतिक यात्राले महिला नेतृत्व सशक्तीकरण, युवा सहभागिता र सुशासनको पक्षमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। उनको यो कदमलाई सामाजिक अनुभव, जनसेवा र विकासमुखी सोचलाई राजनीतिक नेतृत्वसँग जोड्ने सकारात्मक प्रयासका रूपमा हेरिएको छ।







