वीरताको भूमि र पर्यटनको उदाउँदो केन्द्र

सिन्धुली । महाभारत पर्वतशृङ्खलाको काखमा अवस्थित सिन्धुली आज इतिहास, संस्कृति, कला र प्राकृतिक सम्पदाको संगमस्थलका रुपमा नयाँ परिचय निर्माण गरिरहेको छ । कुनै समय केवल बिपी राजमार्ग भएर यात्रा गर्ने यात्रुको विश्रामस्थलका रुपमा चिनिएको यो जिल्ला अहिले बागमती प्रदेशकै उदाउँदो पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै गएको हो ।

ऐतिहासिक सम्पदाको संरक्षण, पर्यटकीय पूर्वाधारको विकास, स्थानीय संस्कृति र कलाको प्रवद्र्धन तथा प्राकृतिक गन्तव्यहरुको पहिचान र प्रचारप्रसारले सिन्धुलीको पर्यटन क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।

बिपी राजमार्गको सहज पहुँच, हरियाली डाँडापाखा, धार्मिक तथा सांस्कृतिक सम्पदा, कला र जीवन्त इतिहासले सिन्धुलीलाई अन्य जिल्लाभन्दा फरक पहिचान दिएको छ । पछिल्ला वर्षहरुमा सिन्धुलीगढीको पुनर्निर्माण, युद्ध संग्रहालय सञ्चालन, गढीडाँडाको विकास, सिन्धुली कला घरको विस्तार तथा विभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धनसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन निरन्तर बढिरहेको छ । पर्यटनसँगै स्थानीय उत्पादन, होटल व्यवसाय, यातायात र रोजगारीका अवसरहरुमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।

सिन्धुलीको पर्यटन विकासको चर्चा गर्दा सबैभन्दा पहिले नेपाली स्वाभिमान र वीरताको प्रतीक बनेको ऐतिहासिक सिन्धुलीगढीको नाम अगाडि आउँछ । जिल्लाको पर्यटकीय पहिचान निर्माणमा सिन्धुलीगढीले खेलेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ । इतिहास, प्रकृति र संस्कृति एकै स्थानमा अनुभूति गर्न सकिने यो क्षेत्र अहिले सिन्धुलीको पर्यटन विकासको केन्द्रबिन्दु बनेको छ ।

वीरताको इतिहास बोकेको सिन्धुलीगढी

जहाँ गौरवपूर्ण इतिहास कुँदिएको छ, त्यही हो सिन्धुलीगढी । नेपाली स्वाभिमान, वीरता र राष्ट्रिय अस्तित्वको प्रतीकका रुपमा परिचित यो भूमि नेपाल–अंग्रेज युद्धको गौरवपूर्ण इतिहाससँग जोडिएको छ । यहीँ गोरखाली सेनाले इस्ट इन्डिया कम्पनीका शक्तिशाली सैनिकलाई पराजित गर्दै नेपालको सार्वभौमिकता जोगाउन महत्वपूर्ण योगदान दिएको थियो ।

इतिहास खोजकर्ता खगेन्द्र फुयाँलका अनुसार, सिन्धुलीगढीको इतिहास केवल युद्धको कथा मात्र होइन, यो स्थानीय समुदायको सभ्यता, संस्कृति र जीवनशैलीसँग समेत गाँसिएको छ । क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई स्थानीय भूगोल, गोरखाली सेनाको रणनीति र स्थानीय जनताको सहयोगले पराजित गर्न सम्भव भएको थियो । यही विजयले नेपालको एकीकरण अभियानलाई थप बलियो बनाएको मानिन्छ ।

सिन्धुलीगढी आसपासका ढुङ्ग्रेभन्ज्याङ, पौवागढी, सोलाभन्ज्याङ, मजुवा, चपौली, खानीगाउँलगायतका बस्तीहरु आज पनि त्यो इतिहासका साक्षी बनेर उभिएका छन् । विसं २०१९ सालसम्म सिन्धुली जिल्लाको प्रशासनिक केन्द्र समेत यही क्षेत्रमा रहेको थियो । तत्कालीन अदालत, जेलघर, विद्यालय, पानी सङ्कलन स्थल तथा अन्य संरचनाका भग्नावशेषले इतिहासलाई अझ जीवन्त बनाइरहेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा अवस्थित यो ऐतिहासिक स्थलले विगत र वर्तमानलाई एकैसाथ जोडेको अनुभूति गराउँछ । गढीको टाकुराबाट हेर्दा देखिने हरिया डाँडापाखा, तराईका फाँट, महाभारत शृङ्खलाको प्राकृतिक सौन्दर्य र इतिहासका अवशेषले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गढी घुम्न आएका भक्तपुरका सृजना चित्रकारले सुनाइन् ।

लामो समयसम्म उपेक्षित बनेको सिन्धुलीगढी २०७४ सालपछि पुनः जीवन्त बन्दै गएको स्थानीय नवीन अधिकारीले बताए । संघीय संरचनापछि ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएपछि यहाँ बागमती प्रदेश सरकार र स्थानीय तहको लगानीमा उल्लेखनीय पूर्वाधार विकास भएको छ । गढी क्षेत्रमा युद्ध सङ्ग्रहालय निर्माण गरिएको छ । सङ्ग्रहालयमा नेपाल–अङ्ग्रेज युद्धसँग सम्बन्धित सामग्री, परम्परागत हातहतियार, युद्धसम्बन्धी जानकारी तथा दृश्य सामग्री राखिएका छन् । पुनर्निर्माण गरिएको रानीदरबार, ऐतिहासिक संरचनाहरु तथा व्यवस्थित पदमार्गले पर्यटकलाई इतिहाससँग प्रत्यक्ष साक्षात्कार गराउँछन् ।

स्थानीय पर्यटन व्यवसायीहरुका अनुसार नयाँ संरचना निर्माण र सग्रहालय सञ्चालनमा आएपछि सिन्धुलीगढीमा आउने पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको छ । विशेष गरी नयाँ वर्ष, सार्वजनिक बिदा तथा शनिबारका दिन आन्तरिक पर्यटकको उल्लेख्य चाप देखिन्छ ।

पछिल्लो समय भारतसहित विभिन्न देशका विदेशी पर्यटक पनि यहाँ पुग्न थालेका छन् । यहाँ पुग्ने पर्यटकले इतिहास मात्र होइन, प्राकृतिक सौन्दर्यको समेत भरपुर आनन्द लिन सक्छन् । वसन्त ऋतुमा गुराँसले ढकमक्क ढाकिने वन, गर्मीयाममा पाक्ने काफल, शीतल हावा र कुहिरोले ढाकिएको दृश्यले सिन्धुलीगढीलाई चारै मौसम आकर्षक बनाएको छ ।

‘सेल्फीडाँडा’ अहिले ‘गढीडाँडा’

बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ मा रहेको चर्चित ‘सेल्फीडाँडा’ अहिले ‘गढीडाँडा’ को रुपमा परिचित हुन थालेको छ । पहिले केवल दृश्यावलोकन र तस्बिर खिच्ने स्थानका रुपमा परिचित यो डाँडा अहिले ऐतिहासिक पहिचान बोकेको स्थल बनेको छ । यहाँ निर्माण गरिएका भित्तेचित्र, सालिक र कलात्मक संरचनाले सिन्धुलीगढीको वीरगाथा झल्काउँछन् ।

गढीडाँडामा पुग्ने यात्रुले गोरखाली सेनाको बहादुरी, सिन्धुलीगढी युद्ध, गढी दरबार तथा धार्मिक–सांस्कृतिक सम्पदाका चित्रहरु अवलोकन गर्न सक्छन् । नेपाली सेनाको प्राविधिक सहयोग तथा कमलामाई नगरपालिकाको सहकार्यमा निर्माण गरिएका यी संरचनाले इतिहासलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरेका छन् । इतिहास अध्येता सागरकुमार ढकालका अनुसार, गढीडाँडाले सिन्धुलीगढीको महत्व बुझाउने वैकल्पिक केन्द्रका रुपमा काम गरिरहेको छ । बिपी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुले यहाँ केही समय विश्राम गर्दै इतिहास र प्रकृतिलाई एकैसाथ अनुभव गरिरहेका छन् ।

गढीडाँडाबाट देखिने नागबेली बिपी राजमार्ग, हरियाली डाँडाकाँडा र सिन्धुलीको मनोरम दृश्यले यसलाई लोकप्रिय गन्तव्य बनाएको छ । स्थानीय उत्पादनबाट बनेका जुनारको जुस, चिया तथा परिकारको स्वाद लिन सकिने भएकाले यसले स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको छ ।

कला, संस्कृति र पर्यटनको अर्को केन्द्रः कला घर

सिन्धुलीगढीबाट केही दूरीमा रहेको सिन्धुली कला घरले जिल्लाको पर्यटनमा नयाँ आयाम थपेको छ । कमलामाई नगरपालिका–३ मा अवस्थित यो कला घर अहिले कला, संस्कृति र पर्यटनको महत्वपूर्ण केन्द्रका रुपमा परिचित छ ।

चार रोपनी क्षेत्रफलमा फैलिएको कला घर परिसर नेपाली मौलिकता, संस्कृति र कलाको जीवन्त सङ्ग्रहालय जस्तै देखिन्छ । यहाँ पशुपतिनाथ, लुम्बिनी, बौद्ध स्तूप, जानकी मन्दिर, धरहरा, सारङ्गी, मादल तथा नेपाली ग्रामीण जीवनसँग सम्बन्धित विभिन्न कलाकृतिहरु प्रदर्शन गरिएका छन् ।

कलाकार, विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकहरुका लागि यो स्थल विशेष आकर्षणको केन्द्र बनेको छ । यहाँ पुग्नेहरुले केवल कला अवलोकन मात्र गर्दैनन्, नेपाली संस्कृति र परम्पराको गहिरो अनुभूति पनि गर्छन् । हालै नेपाल कला यात्राका अभियन्ता तथा प्राज्ञ नगेन सिंह ठकुरीले गत २ असारमा मात्रै सिन्धुली कला घरलाई प्रत्यक्ष रुपमा क्यानभासमा उतारेका छन् ।

उनका अनुसार, सिन्धुली कला घर नेपाली मौलिकता र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम बनेको छ ।
कला घरका परिकल्पनाकार सुमन थापा मगरले यो स्थललाई कला सिकाइ, संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए । यहाँ सञ्चालन हुने सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा समूह तथा कलासम्बन्धी गतिविधिले स्थानीय पहिचानलाई थप बलियो बनाएका छन् ।

हरिहरपुरगढी किल्ला

सिन्धुली जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित हरिहरपुरगढी ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । तत्कालीन सेन वंशीय राज्यको प्रशासनिक तथा सामरिक केन्द्रका रुपमा परिचित हरिहरपुरगढीले नेपालको एकीकरण अभियान र मध्यकालीन इतिहाससँग गहिरो सम्बन्ध राख्छ । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा अवस्थित यो क्षेत्रबाट महाभारत पर्वतशृङ्खला, तराईका फाँट तथा आसपासका पहाडी भूभागको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

हरिहरपुरगढीमा रहेको ऐतिहासिक किल्ला, दरबार क्षेत्रका भग्नावशेष र पुराना संरचनाले यहाँको गौरवशाली विगतको झल्को दिन्छन् । इतिहासकारहरुका अनुसार मकवानपुर तथा हरिहरपुर राज्य तत्कालीन सेन शासकहरुको महत्वपूर्ण केन्द्र थियो । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका क्रममा यो क्षेत्र गोरखा राज्यमा समेटिएको थियो । त्यसयता हरिहरपुरगढी नेपाली इतिहासको महत्वपूर्ण अध्यायसँग जोडिँदै आएको छ ।

ऐतिहासिक महत्वसँगै यहाँ धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको हरिहरनाथ मन्दिरले पनि पर्यटक तथा दर्शनार्थीलाई आकर्षित गर्ने गरेको छ । विशेष गरी हरिबोधिनी एकादशी, रामनवमी तथा अन्य धार्मिक अवसरहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको स्थानीय सुरज थिङले बताए । उनकाअनुसार पछिल्ला वर्षहरुमा सडक पहुँच विस्तार भएसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । सिन्धुलीगढीले नेपाली वीरताको इतिहास बोकेको छ भने हरिहरपुरगढीले सेनकालीन राज्य व्यवस्था, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यलाई एकैसाथ समेटेर सिन्धुलीको पर्यटन सम्भावनालाई थप व्यापक बनाएको छ ।

ग्वाङखोला झरनाको आकर्षण

सिन्धुली जिल्लाको मरिण क्षेत्र नजिक अवस्थित ग्वाङखोला झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण र सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । घना वन, हरियाली पहाड र प्राकृतिक वातावरणको बीचमा अवस्थित यो झरनाले यहाँ पुग्ने जोकसैलाई लोभ्याउँछ ।

चट्टानी भीरबाट तल खस्ने स्वच्छ पानी, वरपरको हरियाली वातावरण र चराचुरुङ्गीको मधुर आवाजले ग्वाङखोला झरनालाई प्रकृतिप्रेमीहरुको रोजाइको गन्तव्य बनाएको छ । शहरी कोलाहलबाट टाढा शान्त वातावरणमा केही समय बिताउन चाहने पर्यटकका लागि यो उपयुक्त स्थल मानिन्छ । झरना आसपासको प्राकृतिक परिवेशले पदयात्रा, दृश्यावलोकन, फोटोग्राफी तथा मनोरञ्जनात्मक भ्रमणका लागि समेत आकर्षित गर्ने गरेको छ ।

मरिण क्षेत्र नजिक अवस्थित ग्वाङखोला झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो। वर्षायाममा झन् आकर्षक देखिने यो झरना प्रकृतिप्रेमी तथा आन्तरिक पर्यटकका लागि उपयुक्त स्थल बन्दै गएको छ । वरपरको हरियाली वातावरणले यहाँ पुग्नेहरुलाई विशेष आनन्द प्रदान गर्छ ।

बिपी राजमार्ग दृश्यावलोकन क्षेत्र

काठमाडौंलाई तराईसँग जोड्ने बिपी राजमार्ग आफैँमा एक पर्यटकीय अनुभव हो । मार्गका विभिन्न दृश्यावलोकन केन्द्रहरुबाट देखिने पहाडी भूदृश्य, घुमाउरा सडक, हरियाली वन र बस्तीहरुले यात्रालाई रोमाञ्चक बनाउँछन् । गढीडाँडा, खुर्कोट आसपासका दृश्यावलोकन स्थल तथा अन्य भ्यूपोइन्टहरु पर्यटकका लोकप्रिय गन्तव्य बन्दै गएका छन् ।

सिन्धुलीगढी, गढीडाँडा र कला घरजस्ता गन्तव्यहरुको विकाससँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेस्टुरेन्ट, होमस्टे, कृषि उत्पादन तथा हस्तकलासम्बन्धी व्यवसायले प्रत्यक्ष लाभ लिइरहेका छन् ।

विशेष गरी जुनार, सुन्तला, भुइँकटहर, स्थानीय तरकारी तथा अन्य कृषि उत्पादनको बिक्री बढेको स्थानीय व्यवसायीहरु बताउँछन् । पर्यटकको आगमनले रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा समेत सहयोग पुगेको छ । (बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा तयार पारिएको)

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.