मकवानपुर । मकवानपुर जिल्ला क्षेत्र नम्बर-१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमलाई विजयी गराउने लक्ष्यसहित हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम भएको छ। ती कार्यक्रमसँगै सोही दिन विभिन्न वडाहरूमा घरदैलो अभियानसमेत सञ्चालन गरिएको छ, जसले हेटौडामा नेकपाको चुनावी गतिविधिलाई थप तीव्र बनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान अवस्थाले अब निर्णायक राजनीतिक हस्तक्षेपको माग गरिरहेको बताए। उनले यो निर्वाचन कुनै एक व्यक्तिका लागि मात्र नभई सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने कि नउभिने भन्ने निर्णायक घडी भएको स्पष्ट पारे। हेटौडासहित मकवानपुरका विकासका अधुरा योजनाहरू, बढ्दो बेरोजगारी र युवापुस्ताको भविष्यलाई केन्द्रमा राखेर आफूले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
गौतमले जनताले लामो समयदेखि आश्वासन मात्रै सुन्नुपरेको उल्लेख गर्दै अब परिणाम देखिने कामको समय आएको बताए। उनले जनतासँगै रहेर जनताकै समस्या संसद्मा उठाउने आफ्नो लक्ष्य रहेको पनि स्पष्ट पारे।
कार्यक्रमसँगै विभिन्न वडाहरूमा स्थानीय सामाजिक अगुवा तथा प्रभावशाली व्यक्तित्वहरूसँग भेटघाट गरिएको थियो। भेटघाटका क्रममा चुनावी रणनीति, संगठन सुदृढीकरण र प्रचार–प्रसार अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको उम्मेदवार गौतमले जानकारी दिए।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, बालकृष्ण चौलागाईं, केदारनाथ दुलाल, घनप्रसाद गौतम, ध्रुव भुजेल, बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माधव तिमल्सिना, तीर्थ थापा मगर तथा अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याललगायत नेताहरूले सम्बोधन गरेका थिए। वक्ताहरूले वर्तमान व्यवस्था स्थापनामा निर्णायक भूमिका खेलेको नेकपा आज त्यसको रक्षा र सुधारको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै मुलुकलाई सुशासन, विकास र सामाजिक न्यायको दिशामा अघि बढाउन विजय गौतमको विजय आवश्यक रहेको धारणा राखे।
कार्यक्रमको अध्यक्षता नारायणलाल श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य बैकुण्ठप्रसाद सापकोटाले राखेका थिए। त्यसैगरी वडा नम्बर ९ मा आयोजित कार्यक्रम वडा संयोजक सूर्यबहादुर स्याङ्तानको अध्यक्षतामा भएको थियो।








