मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले(का तर्फबाट मकवानपुर क्षेत्र नम्बर२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बतौलाले आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ संसदीय जिम्मेवारीमार्फत नीति निर्माण र विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यही २१ फागुनमा हुने निर्वाचन अन्तर्गत आज मध्यरातिदेखि मौन अवधि सुरु हुनुअघि आयोजित पत्रकार भेटघाटमा उनले संसदमा आफ्नो भूमिका प्रभावकारी बनाउँदै क्षेत्रको दीर्घकालीन विकास, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट योजना प्रस्तुत गरे।
बतौलाले मध्यवर्ती क्षेत्रका जटिल समस्याको दिगो समाधानका लागि भूमि समस्या समाधानको कानुनी सुनिश्चितता गर्ने, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई व्यवस्थित बनाउँदै क्षतिपूर्तिको प्रभावकारी प्रबन्ध मिलाउने तथा आवश्यकताअनुसार मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका लागि पहल गर्ने बताए ।
पूर्वाधार विकासलाई जनजीवनसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा उल्लेख गर्दै उनले खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार पूर्वाधार विस्तार, बस्ती संरक्षणका लागि तटबन्धन निर्माण, सडक तथा पुल निर्माणलाई उच्च प्राथमिकतामा राख्ने बताए। विशेषगरी मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने रूपचन्द्र विष्ट मार्ग निर्माण कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार र सेवा विस्तारमा जोड दिइने पनि उनले स्पष्ट पारे।
कृषि क्षेत्रको सुदृढीकरणलाई समग्र आर्थिक उन्नतिको आधार मान्दै उनले दुग्ध तथा मासुजन्य उत्पादनको बजार विस्तार, ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन तथा वन्यजन्तुबाट हुने कृषिक्षतिको कानुनी व्यवस्थापनको व्यवस्था मिलाउने बताएका छन्। सहकारी, कृषि तथा वन स्रोतको प्रभावकारी उपयोगमार्फत रोजगारी र स्वरोजगारका अवसर सिर्जना गरी गरिबी न्यूनीकरणमा योगदान पुर्याउने योजना उनको छ।
समृद्धि विशेष कार्यक्रमअन्तर्गत राक्सिराङ र कैलाश गाउँपालिकामा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई समेटेर उत्तरी मकवानपुर पर्यटन सर्किट निर्माणका लागि पहल गरिने उनले जानकारी दिए।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई दीर्घकालीन लगानीका रूपमा उल्लेख गर्दै उनले प्रत्येक पालिकामा एक आवासीय विद्यालय निर्माण, ‘पढ्दै, कमाउँदै’ कार्यक्रम कार्यान्वयन, मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माण, युवा उद्यम प्रवर्द्धन तथा चेपाङ विकास कार्यक्रम सञ्चालनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी नीति तथा कानुन निर्माण प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्ने, महिला, दलित, सिमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा विशेष ध्यान दिने, लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कानुनी संयन्त्र सुधार गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गर्ने उनको भनाइ छ।
स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै मकवानपुरमा उद्योगधन्दा र लगानीमैत्री वातावरण निर्माण गरी आर्थिक गतिविधि विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले संसदीय भूमिकामार्फत क्षेत्रको समग्र विकासलाई अगाडि बढाउने दाबी गरे।








