इओसी नेपालबाट ७०० पर्यवेक्षक

बागमती प्रदेशको राजधानी हेटौँडामा निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) को टोली तयारी अवस्थामा ।

काठमाडौँ। निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि देशभर करिब ७०० जना राष्ट्रिय पर्यवेक्षक खटाएको छ। विगतका निर्वाचनबाट प्राप्त अनुभवका आधारमा यसपटक पनि दीर्घकालीन तथा अल्पकालीन दुवै प्रकारको अनुगमनलाई निरन्तरता दिएको इओसीले जनाएको छ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालको प्रयोग उल्लेख्य रूपमा बढेकाले इओसी नेपालले आचारसंहिता उल्लङ्घनको सूक्ष्म अनुगमन गर्न केन्द्रीय कार्यालयमा विशेष प्राविधिक टोली गठन गरेको छ। उक्त टोलीले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यममा देखिएका सम्भावित उल्लङ्घनका घटनाहरू संकलन, विश्लेषण र निगरानी गरिरहेको बताइएको छ।

सार्वजनिक सूचनाका लागि इओसी नेपालले ‘इलेक्सन वाच २०८२’ नामक विशेष वेभपेज सञ्चालनमा ल्याएको छ। यस प्लेटफर्ममार्फत माघ १८ गतेदेखि सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा देखिएका आचारसंहिता उल्लङ्घनसम्बन्धी विवरण नियमित अद्यावधिक गरिँदै आएको छ। नागरिकहरूले पनि सो वेभपेजमार्फत उल्लङ्घनका घटनाबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।

यद्यपि, गएराति १२ बजेदेखि लागू भएको मौन अवधि सुरु भइसके पनि डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत दल वा उम्मेदवारको पक्षमा मत प्रभावित पार्ने सामग्री तथा भ्रामक सन्देशहरू प्रसारित भइरहेका छन्।

इओसी नेपालले निर्वाचन आयोग र नेपाल सरकारसँग आचारसंहिता विपरीत गतिविधि नियन्त्रण गर्न, निर्वाचन प्रक्रियामा कडाइका साथ निगरानी बढाउन तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आग्रह गरेको छ। साथै, सबै राजनीतिक दल, उम्मेदवार, समर्थक र आम नागरिकलाई आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्र, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.