मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार मकवानपुर जिल्लामा करिब ५९ प्रतिशत मतदान भएको छ। दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।
जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेकामा १ लाख ८६ हजार ५५१ मत खसेको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । खसेको मतमध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र पाँच अन्य मतदाता रहेका छन्।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा ४७ हजार ६७० पुरुष, ४७ हजार ६३६ महिला र चार अन्य गरी कुल ९५ हजार ३१० मत खसेको हो। त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा ४८ हजार ९६४ पुरुष, ४२ हजार २७६ महिला र एक अन्य गरी ९१ हजार २४१ मत खसेको कार्यालयले जनाएको छ।
मतदानपछि जिल्लास्थित विभिन्न मतदान केन्द्रबाट संकलित गरी ल्याइएको मतपेटिका खोली जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गर्ने तयारी छ । मतगणनाको तयारीका लागि शुक्रबार बिहान सर्वदलीय बैठक बस्ने जनाइएको छ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार मतगणनालाई व्यवस्थित बनाउन भुटनदेवी माध्यमिक विद्यालयका दुई वटा ब्लक प्रयोग गरिनेछ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना ‘ए’ ब्लकको उत्तरतर्फ रहेको भवनमा गरिनेछ भने क्षेत्र नम्बर–२ को मतगणना ‘बी’ ब्लकमा सञ्चालन गरिनेछ।
यस निर्वाचनका लागि मकवानपुरमा कुल ३७४ मतदान केन्द्र तोकिएका थिए। तीमध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा १७८ र क्षेत्र नम्बर-२ मा १९६ मतदान केन्द्र कायम गरिएको थियो। ती सबै केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
१०२ वर्षीय मतदाताको सहभागिता
हेटौँडा उपमहानगरपालिका-६ निवासी १०२ वर्षीय टीकादत्त पौडेलले पनि मतदान गरेका छन्। उनी हेटौँडास्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
विसं १९८२ मा जन्मिएका पौडेलले विसं २०१५ साल यताका सबै निर्वाचनमा मतदान गर्दै आएका छन्। वडा सदस्य समेत रहेका उनका नाति विजय पौडेलका अनुसार यसपटक उनले आफ्ना छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन्।
पौडेल स्वयंले विसं २०४२ सालको निर्वाचनमा तत्कालीन हेटौँडा नगर पञ्चायतको वडा नम्बर–६ को सदस्य पदका लागि उम्मेदवारी दिएका थिए। तर, उक्त निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएको उनले स्मरण गरे।








