मकवानपुर। एक समय स्वदेशी उत्पादन र हजारौँको संख्यालाई रोजगारी दिलाएको हेटौँडा कपडा उद्योग वर्षौँदेखि बन्द छ । यसलाई फेरि जीवन दिने माग संसदसम्म गुञ्जिन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले बुधबारको प्रतिनिधिसभा बैठकमा यही विषयलाई जोड दिए। प्रतिनिधीसभामा धारणा राख्दै सांसद उप्रेतीले हेटौँडा-९ मा रहेको यो उद्योग सञ्चालनको पर्खाइमा रहेको बताए। लामो समयदेखि निष्क्रिय रहेको उद्योग पुनः सञ्चालनका लागि सरकारको ठोस पहल आवश्यक रहेको उनको भनाई छ ।
उप्रेतीले केही समयअघि गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका पोशाक स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको प्रसंग पनि जोड्दै, त्यसको व्यवहारिक कार्यान्वयनका लागि हेटौँडा कपडा उद्योग सञ्चालन अपरिहार्य रहेको बताए। ‘प्रहरीको पोशाक नेपालमै सिलाउने हो भने यसको सुरुवात यही उद्योगबाट हुनुपर्छ ।’ उनले भने । यसका लागि सरकारलाई तत्काल आवश्यक कदम चाल्न पनि उनले आग्रह गरे।
हेटौँडा कपडा उद्योगको इतिहास आफैंमा उतारचढावले भरिएको छ। स्थापना हुँदा यसले स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको थियो, स्वदेशी उत्पादनलाई बलियो बनाएको थियो र औद्योगिक विकासको एउटा उदाहरण बनेको थियो। तर, विभिन्न कारणले विसं २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द हुन पुग्यो। त्यसयता झन्डै २५-२६ वर्षसम्म यो उद्योग बन्द अवस्थामा छ ।
संसदमा उठेको यो आवाज केवल एउटा उद्योग खोल्ने माग मात्र होइन, बन्द अवस्थामा रहेका अन्य उद्योग र कलकारखानालाई पनि पुनर्जीवन दिने नागरिकले बालेन्द्र शाह नेतृत्वको रास्वपासँग अपेक्षा गरेका छन् । बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालनमा आउने, स्वदेशी उत्पादन बढ्ने र युवाहरूले रोजगारीको अवसर पाउने आशा जनस्तरमा बढ्दो छ। हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आएमा यो केवल एउटा कारखाना खुल्ने मात्र होइन, औद्योगिक पुनर्जागरणको सुरुवात हुने विश्वास धेरैले गरेका छन्।
उप्रेतीले आफ्नो सम्बोधनका क्रममा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउने जेनजी तथा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, देश निर्माणमा उनीहरूको योगदानलाई सम्झिए।








