मकवानपुरगढी ५ मा शिक्षकका सन्तान सामुदायिक विद्यालयमै !

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ नम्बर वडामा सामुदायिक विद्यालय सुधारका लागि नयाँ अभियान सुरु भएको छ। यस अभियानको केन्द्रमा शिक्षक स्वयं रहेका छन् ।

वडा भित्रका सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक–शिक्षिकाले अब आफ्ना नानीबाबुलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउने सामुहिक प्रतिबद्धता जनाएका छन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने लक्ष्यसहित गरिएको यो निर्णयले स्थानीय शैक्षिक क्षेत्रमा नयाँ आशा जगाएको छ।

वडा अध्यक्ष दिपेश दाहालको अध्यक्षतामा आयोजित सामूहिक बैठकमा यो निर्णय गरिएको हो। ‘म बनाउँछु मेरो विद्यालय’ भन्ने नारासहित यस वडा भित्र रहेका सातवटै सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने लिखित प्रतिबद्धता जनाए।

यो प्रतिबद्धतामा शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर कार्की, सरस्वती आधारभूत विद्यालय चतुर्भुज पौडेल, अमरसिंह आधारभूत विद्यालयका राजु संजेल,आधारभूत विद्यालयका प्रल्हाद घिमिरे,ज्योति आधारभूत विद्यालय करुणा विष्ट, मञ्जुश्री आधारभूत विद्यालयका कृष्णप्रसाद आचार्य तथा उज्वल आधारभूत विद्यालयका इन्द्रबहादुर बस्नेत सहभागी भए।

बैठकमा केवल प्रतिबद्धता मात्र जनाइएन। सामुदायिक विद्यालयको शैक्षिक सुधार, आगामी रणनीति र विद्यालयको स्तर उकास्ने उपायबारे पनि विस्तृत छलफल भयो।

बैठकमा वडा अध्यक्ष दाहालले स्थानीय सरकार सामुदायिक विद्यालयको शैक्षिक सुधारप्रति सधैं प्रतिबद्ध रहेको बताए। उनका अनुसार सामुदायिक विद्यालयको स्तर उकास्न शिक्षक, अभिभावक र स्थानीय सरकार एकै ठाउँमा उभिनु आवश्यक छ।
बैठकमा वडा सचिव फणिन्द्र बीसी, वडा सदस्यहरू सुकराम थिङ, अर्जुनबहादुर रुम्बा, नन्दकुमारी विक, चन्द्रकुमारी हुमागाईं, शिक्षा समिति सदस्य बलराम फुयाँल, तेलीमाया घलान, कमलप्रसाद संजेल लगायत विद्यालय व्यवस्थापन समिति पदाधिकारी र शिक्षक प्रतिनिधिहरूको उपस्थिति थियो।

गत वर्षको एसईई परीक्षामा जिल्ला प्रथम हुन सफल शारदा माध्यमिक विद्यालयको उपलब्धिलाई आधार मानेर वडा नम्बर ५ का अन्य विद्यालयलाई पनि अग्रणी शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

वडा अध्यक्ष दाहालले स्थानीय सरकार सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि निरन्तर लागिरहने बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.