मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगरले पत्रकारहरुले जेनजी आन्दोलन र त्यसले चाहेको परिवर्तनको भावना सम्बोधन गरेर काम गर्नुपर्ने बताएका छन् ।
मकवानपुरका पत्रकारलाई प्रदान गरिएको डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमुखीकरण समापनमा बोल्दै अध्यक्ष सारुले यस्तो बताएका हुन् । समाजको छाया पत्रकारमा पनि पर्ने भएकाले समाज बिग्रनुमा पत्रकारको पनि भूमिका रहेको हुनसक्ने उनले बताए । एआईबारे ज्ञान आवश्यक भएको तर्क गर्दै सारुले भने ‘प्रविधिलाई हामीले प्रयोग गर्ने हो, हामीलाई प्रविधिले प्रयोग गर्ने हैन ।’ उनले मिडिया कमजोर भएमा लोकतन्त्र कमजोर हुने कुरामा पनि जोड दिए ।
पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा मकवानपुरको कुलेखानीमा दुई दिन कार्यक्रम भएको हो ।
समापन समारोहमा आयोजक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं महाशाखा प्रमुख पदम ओझाको अध्यक्षता रहेको थियो भने पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष सारु मगरको प्रमुख आतिथ्यता थियो ।
बुधबार र विहीबार भएको कार्यक्रममा प्रशिक्षक शिव पुरी र अजय शर्माले प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईँ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष ध्रुव अधिकारी, भावना रिजाल, पत्रकार महासंघ बागमती प्रदेश सदस्य उज्वल अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुरका सचिव अनिल पराजुलीलगायतको उपस्थिती थियो ।
कार्यक्रमको उद्घाटन बुधबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले गरेका थिए ।







