प्रेस स्वतन्त्रताबारे हेटौँडामा अन्तरक्रिया

मकवानपुर । विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को अवसरमा मकवानपुरको हेटौँडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया गरिएको छ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले गरेको अन्तरक्रियाका सहभागी पत्रकार तथा सरोकारवालाहरूले पछिल्लो समय प्रेस स्वतन्त्रताका सवालमा विभिन्न प्रश्नहरु उब्जिएकोमा चिन्ता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले जुनसुकै सरकारले पनि विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा त्यसको पूर्ण प्रत्याभूति हुन नसकेको उल्लेख गरे।

उपाध्यक्ष हुमागाईले पछिल्लो समय सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई नागरिकले एउटै दृष्टिकोणबाट हेर्न थालेकाले पत्रकारिताको विश्वसनीयता र जिम्मेवारीमाथि थप चुनौती थपिएको बताए। सामाजिक सञ्जालमा फैलिने अपुष्ट र भ्रामक सामग्रीका कारण पेशागत पत्रकारिताको मूल्यांकनमा समेत असर परेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्टले सरकारले पत्रकारप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण अंग भएकाले राज्यले पत्रकार र सञ्चार क्षेत्रलाई नियन्त्रणको दृष्टिले होइन, सहकार्य र संरक्षणको दृष्टिले हेर्नुपर्ने बताए।

पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारहरूले आफ्नो अधिकार, स्वतन्त्रता र पेशागत सुरक्षाका लागि निरन्तर संघर्ष गर्दै आएको बताए। उनले प्रेस स्वतन्त्रताको महत्वलाई स्मरण गर्दै अधिकार सुनिश्चितताका लागि थप एकजुट हुनुपर्ने धारणा राखे।

स्वतन्त्र पत्रकार संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले पत्रकार स्वतन्त्र ढंगले आफ्नो कर्ममा क्रियाशील रहनुपर्नेमा जोड दिए । ‘मिडियाकर्मीहरुले सन्तुलित ढंगले सोच्नुपर्‍यो । यदि त्यसो भएको खण्डमा हामीमाथि प्रश्न पनि उठ्दैनन् । ’ उनले भने ।
अन्तरक्रियामा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पुष्पराज अधिकारी, मकवानपुर अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरका अध्यक्ष रमिला सापकोटा, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा ,पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, पत्रकार महासंघ बागमती प्रदेश सदस्य सुवर्णलाल श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको महत्व र पत्रकारितामाथि बढ्दो चुनौतीका विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.