विद्यार्थीलाई सीपमूलक तालिम

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ ले आफ्नो वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै सीपमूलक तालिम सुरु गरेको छ।

विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यवहारिक तथा व्यवसायिक ज्ञानसँग जोड्ने उद्देश्यसहित कक्षा ९ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको वडा कार्यालयले जनाएको छ।

वडाले कपाल काट्ने, ब्युटी पार्लर तथा इलेक्ट्रिकल सम्बन्धी तालिम सञ्चालन गरेको हो। उक्त तालिमको बिहीबार संयुक्त रूपमा उद्घाटन गरिएको थियो। तालिम जेठ र असार महिनाभर शनिबार र आइतबार सञ्चालन गरिने जनाइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन सिग्देल ले विद्यार्थीलाई विद्यालय शिक्षासँगै व्यवहारिक सीप आवश्यक रहेको बताए। उनले बदलिँदो समयअनुसार अध्ययनसँगै सीप हासिल गर्न सके भविष्यमा आत्मनिर्भर बन्न सहज हुने धारणा राखे। सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले तालिमलाई निरन्तरता दिने योजना रहेको उल्लेख गरे।

कार्यक्रममा भुटनदेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे ले वडा कार्यालयले थालेको सीपमूलक कार्यक्रम उदाहरणीय भएको बताए। उनले विद्यार्थीलाई सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्दै यस्ता तालिमले अध्ययनसँगै आत्मविश्वास र रोजगारीको आधार तयार पार्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष तथा शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष एवं श्रमिक माध्यमिक विद्यालय का प्रधानाध्यापक श्रीराम दाहाल ले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यस्तो अभ्यास नयाँ र सकारात्मक पहल भएको बताए। उनले तालिमप्रति विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको उल्लेख गर्दै सीपमूलक शिक्षाले भविष्यमा व्यावसायिक दक्षता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं, भुटनदेवी माध्यमिक विद्यालय का सहायक प्रधानाध्यापक भरत पोखरेल, वेदराज कोइराला लगायत प्रशिक्षकहरूको सहभागिता रहेको थियो।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.