मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारको संरचना, संसद् सञ्चालन र पार्टी आन्तरिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मंगलबार काठमाडौँमा बसेको बैठकले समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्दै विभिन्न निर्णय सार्वजनिक गरेको हो ।
बैठकले प्रदेशसभा बैठक लामो समयसम्म सञ्चालन हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई औपचारिक रूपमा अनुरोध गर्ने निर्णय गरेको छ । संसदीय प्रक्रियालाई गतिशील बनाउने र विधायन कार्यलाई अघि बढाउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ ।
त्यस्तै, बागमती प्रदेश सभाको सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ । सत्ता साझेदार दलहरूसँगको समन्वयमा यो पदमा आफ्नो दाबी प्रस्तुत गर्ने रणनीति कांग्रेसले तय गरेको हो ।
प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदाबारे पनि बैठकमा विस्तृत छलफल भएको थियो । मस्यौदामा हाल रहेका १३ मन्त्रालयलाई घटाएर ७ मन्त्रालयमा सीमित गर्ने, ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राखी ५ वटा खारेज गर्ने तथा हाल कायम कर्मचारी दरबन्दीमध्ये ७०१ जना कटौती गर्ने प्रस्ताव समावेश छ । बैठकले उक्त मस्यौदालाई सरकारमा सहभागी दुई दलबीच आपसी संवादमार्फत पारित गर्नतर्फ अघि बढ्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ । पार्टी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनको कार्यकाल सफल रहोस् भन्ने कामना गरिएको छ ।
यसैगरी, पार्टीभित्र देखिएका आन्तरिक समस्याहरूलाई संवाद र सहमतिका आधारमा छिट्टै समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको छ । आगामी १५ औँ महाधिवेशनलाई एकताको सन्देश दिने महाधिवेशनका रूपमा स्थापित गर्न दुवै पक्षलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिएको छ ।
बैठकले विभिन्न व्यक्तित्वहरूको निधनप्रति पनि गहिरो दुःख व्यक्त गरेको छ । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका पिता, पूर्वमन्त्री तिर्थ लामाका पिता केशरबहादुर तामाङ तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठका पति रामेश्वर श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको हो ।








