मकवानपुर । हेटौँडाको बुद्धचोकमा मानिसहरूको भीड क्रमशः बढ्दै थियो । सडक किनारमा केही युवायुवतीहरू अभिनयको तयारीमा थिए । केहीबेरमै सुरु भएको नाटकले उपस्थित दर्शकलाई मनोरञ्जन मात्र दिएन,उनीहरूलाई समाजको एउटा गम्भीर यथार्थसँग साक्षात्कार गरायो । मानव बेचबिखन र शोषणको बदलिँदो स्वरूपलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको सडक नाटकले दर्शकलाई भावुक बनायो, सोच्न बाध्य बनायो र सचेत पनि गरायो ।
मानव बेचबिखन तथा शोषणविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्घेश्यले शक्ति समूहले ‘फ्री अ गर्ल नेदरल्याण्ड’को सहयोगमा सञ्चालन गरिरहेको ‘स्कुल फर जस्टिस’ परियोजना अन्तर्गत हेटौँडाको बुद्धचोक र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यमिक विद्यालयमा दुई दिनसम्म सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । मकवानपुरलाई मानव बेचबिखनको दृष्टिले उच्च जोखिमयुक्त जिल्ला मानिने भएकाले समुदाय र विद्यालयलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
नाटकमा गाउँदेखि शहरसम्म फैलिएका मानव बेचबिखनका नयाँ स्वरूप, रोजगारी र आकर्षक भविष्यको प्रलोभनमा परेर हुने शोषण, सामाजिक सञ्जालमार्फत बढ्दो जोखिम तथा पीडितहरूले भोग्नुपरेका पीडालाई जीवन्त ढंगले प्रस्तुत गरिएको थियो । साथै, यस्ता घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानी, परिवार र समुदायको भूमिका तथा प्रभावित व्यक्तिप्रति समाजले देखाउनुपर्ने सम्मानका विषयलाई पनि नाटकले सशक्त रूपमा उठाएको थियो ।
बुद्धचोकमा पहिलो दिन आयोजित प्रदर्शनमा करिब ६ सय दर्शक सहभागी भएका थिए । दोस्रो दिन शारदा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ७ सय ५० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाको उपस्थिति रहेको थियो । दर्शकहरूको सहभागिता र प्रतिक्रिया हेर्दा कार्यक्रमले आफ्नो उद्घेश्य पूरा गर्न सफल भएको देखिन्थ्यो ।
नाटक हेरेपछि धेरै दर्शक भावुक बने । कार्यक्रममा सहभागी एक महिला शिक्षकाले नाटकका दृश्यहरू यति वास्तविक लागेको बताइन् । केही क्षणका लागि आफू नै ती पात्रमध्ये एक भएको अनुभूति भएको उनको भनाई थियो । ‘मानव बेचबिखनका घटनाहरू समाचारमा पढ्ने गरेका थियौँ, तर आज मञ्चमा देखाइएका दृश्यहरूले त्यो पीडालाई नजिकबाट महसुस गराए ।’ उनले भनिन्, ‘यस्ता कार्यक्रम विद्यालय र समुदायमा निरन्तर हुन आवश्यक छ ।’
शारदा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक इन्द्र बहादुर कार्कीले नाटकले विद्यालयको सामाजिक अध्ययन पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको बताए । उनका अनुसार पाठ्यपुस्तकमा पढेका विषयलाई नाटकमार्फत देख्दा विद्यार्थीहरूले अझ गहिरोसँग बुझ्न सक्ने अवसर पाउँछन् ।
कार्यक्रममा शक्ति समूहकी परियोजना अधिकृत शारदा भट्टराईले संस्था विगत २९ वर्षदेखि मानव बेचबिखनविरुद्धको अभियान र बाल संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहेको जानकारी दिइन् । उनले समुदायमा आधारित सडक नाटकजस्ता गतिविधिले जटिल सामाजिक समस्याबारे सहज र प्रभावकारी ढंगले सन्देश प्रवाह गर्न सक्ने बताइन् । ‘मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको छ ।’ भट्टराईले भनिन्, ‘त्यसैले सचेतना अभियान पनि समयअनुकूल र समुदायमै पुगेर सञ्चालन गर्न आवश्यक छ । सडक नाटक त्यही प्रयासको एउटा प्रभावकारी माध्यम हो ।’
कार्यक्रमका क्रममा मानव बेचबिखनका नयाँ चुनौती, जोखिम तथा रोकथामका उपायबारे जानकारीमूलक सामग्रीसमेत वितरण गरिएको थियो । यसले विशेषगरी किशोरकिशोरी र युवाहरूलाई सुरक्षित निर्णय लिन तथा सम्भावित जोखिम पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपालमा मानव बेचबिखन अझै पनि गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको छ । वैदेशिक रोजगारी, शिक्षा, विवाह वा आकर्षक आम्दानीको प्रलोभन देखाएर हुने शोषणका घटनाहरू विभिन्न स्वरूपमा देखा पर्दै आएका छन् । यस्ता परिस्थितिमा समुदायस्तरमै पुगेर गरिने सचेतनामूलक कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
शक्ति समूहले युवाहरूको नेतृत्व, प्रभावित व्यक्तिहरूको आवाज र समुदायको सहभागितालाई एकै ठाउँमा जोड्दै सञ्चालन गरेको यो अभियानले मानव बेचबिखनविरुद्ध सामूहिक जिम्मेवारीको भावना विकास गर्ने अपेक्षा राखेको छ ।







